१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीले चैत १५ गते संसदमा सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार १२:४१

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।

सोमबार बालुवाटारमा सम्पन्न बैठकपछि  सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् । यसैगरी, बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ । राज्यमन्त्री बाँस्कोटाकाअनुसार घर बहालमा दोहोरो कर नलगाउने, रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विस्फोट र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ ।

यसैगरी, बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका सम्बन्धमा सन्चारकर्मीले जिज्ञासा राख्दा राज्यमन्त्री बाँस्कोटाले सो विषयले सोमबारको मन्त्रिपरिषद बैठकमा प्रवेश नपाएको प्रस्ट पारे ।