१६ चैत्र २०८०, शुक्रबार
Follow Us

खेलाडी विमलकी बहिनीको हत्यामा आरोपि चौधरीलाई सफाई

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७४, मंगलवार ०९:४६

नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् । मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ । विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतलमा मुद्दा दायर भएको थियो ।

उक्त अदालतले गरेको फैसलामा दोषी भनिएका आशिषलाई सफाइ दिइएको छ भने मनिषाको मृत्यु झुण्डिएर भएको उल्लेख गरिएको छ ।

शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको उनको मृत्यु झुण्डिएरै भएको उल्लेख गरेका थिए । मनिषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरेको थियो ।

मनिषाको मृत्यु भएपछि पक्राउ परेका आशिषसँग २१ दिन लामो अनुसन्धान र घटनास्थलमा फेला परेका प्रमाणका आधारमा जिल्ला प्रहरी कार्यालयले आशिषले नै प्रेम सम्बन्धमा आएको गतिरोधका कारण मनिषाको हत्या गरेको निष्कर्ष निकालेको थियो ।

मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानी, कलरेकर्ड र मोबाइल म्यासेसमार्फत भएको कुराकानीलगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको प्रहरीले बताएको थियो ।