१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेटवर्किङ्ग अभियानमा ४ सय युवा सहभागी

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७४, मंगलवार २१:१३

लण्डन । बेलायतभरका दर्जनौं विश्वविद्यालयहरुमा अध्ययनरत युवा नेपाली विद्यार्थीहरुको ठूलो सहभागितामा एक बृहत कार्यक्रम सम्पन्न भएको छ ।

मिडल्याण्डको वुल्भरह्याम्पटनमा गत शनिबार गरिएको कार्यक्रममा विभिन्न ४० बेलायती विश्वविद्यालयका झण्डै ४ सय नेपाली विद्यार्थीहरु सहभागी बने ।

बेलायतका सबै नेपाली युवाहरुबीच प्रोफेसनल तथा शैक्षिक नेटवर्क स्थापना गर्ने लक्ष्यले विगत ५ महिनादेखि अघि बढाइएको ‘मर्जिंग नेपसक्स’ अभियानको यो पहिलो औपचारिक कार्यक्रम थियो ।

ट्यालेन्ट शो का रुपमा आयोजित यो कार्यक्रममा विभिन्न विश्वविद्यालयहरुका ‘नेप्लिज सोसाइटी’हरुले विविध नृत्य, गायन, नाटक, मन्तव्य लगायतका विभिन्न प्रस्तुति गरेका थिए ।

बेलायतभित्रका सम्पुर्ण नेपाली युवा तथा प्रोफेसनलहरुलाई जोड्ने यो अभियानलाई थप गति दिने उद्धेश्यले कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको सञ्चालन यहि अभियानमा आबद्ध समिर गुरुंग, टिना तामांग र पवन कंडेलले गरेका थिए । विभिन्न २० विश्वविद्यालयका विद्यार्थीले प्रस्तुतिहरु गरेका थिए ।

बेलायती विश्वविद्यालयहरुभित्रका नेपाली विद्यार्थीहरुको समुह, ‘नेप्लिज सोसाइटी’हरुकै अग्रसरतामा ‘मर्जिंग नेपसक्स्’ अभियान अगाडि बढाइएको हो । सन् २०१७ को अक्टोबरमा सुरु भएको यो अभियानले बेलायतका सबै विश्वविद्यालयमा अध्ययन गरिरहेका अण्डरग्रयाजुएट, पोस्ट ग्रयाजुएट तथा प्रोफेसनल नेपाली युवाहरुलाई एक ठाउं ल्याउने लक्ष्य लिएको छ ।

यस अवधिमा बेलायतस्थित विभिन्न ४० विद्यालयसम्म पुगिसकेको यो अभियानले विभिन्न प्रिजेन्टेसन तथा नेटवर्किंगको कार्यलाई तिब्र बनाएको छ ।

बेलायतको नेपाली समुदायभित्रका सबै नेपाली युवा विद्यार्थी तथा प्रोफेसनलहरुको नेटवर्कका माध्यमबाट सामाजिक गतिशिलताका लागि पहल गर्ने लक्ष्य राखिएको छ । यहांको नेपाली समुदायलाई सामाजिक रुपमा स्तरोन्नति गर्नका लागि संवाहक बन्ने अठोट यी युवाहरुको छ ।

नेपालले भोगिरहेको ब्रेन ड्रेनको समस्यालाई ध्यानमा राख्दै विभिन्न प्रावाधिक तथा अन्य विषयका सीप तथा दक्षता भएकाहरुलाई स्वयमसेवकका रुपमा नेपाल पठाउने लक्ष्य यो अभियानले राखेको छ । नेपालका विभिन्न ग्रामिण भेगमा सञ्चालन हुने विशेष प्रोजेक्टहरुका लागि स्वयमसेवी पठाउने योजना बनाइएको छ ।

अभियानमा अहिले मेन्टरिंग स्किम, त्रैमासिक म्यागेजिन प्रकाशन र एक सन्तुलित समिति निर्माणको तयारी भइरहेको छ ।

बेलायतमा पहिलो पुस्ताका नेपालीहरु सामाजिक काम तथा संघसंस्थाहरुमा निकै बढि सक्रिय रहंदै आएपनि त्यसप्रति दोस्रो पुस्ता खासै आकर्षित भएको पाइंदैन । यस विषयलाई पहिलो पुस्ताले एक चिन्ता र चुनौतिका रुपमा समेत लिने गरेको छ ।

तर अहिले दोस्रो पुस्ताका युवाहरु ( त्यसमध्ये अधिकांश बेलायतमै जन्मिएका तथा हुर्किएका ) आफै अघि सरेर नेपाली युवाहरुबीचको बृहत नेटवर्क निर्माण र नेपालीसमुदाय तथा नेपालका लागि योगदान गर्न कटिबद्ध भएर लागेका छन् । अब पहिलो पुस्ताले पनि नयां युवाहरुको यो अभियानलाई प्रोत्साहन र हौसला दिन सके यसले दुरगामी रुपमा महत्वपुर्ण र सकारात्मक प्रभाव पार्ने विश्वास गर्न सकिन्छ ।