८ बैशाख २०८१, शनिबार
Follow Us

छैठौं यूके नेपाल बडीबिल्डिंग च्याम्पियनसिप मे १२ मा

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७४, मंगलवार २१:१५

लण्डन । यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको बडीबिल्डिंग च्याम्पियनसिपको छैठौं संस्करण मे महिनाको १२ तारिखका दिन आयोजना हुंदैछ् ।

फार्नबरोको ओकफार्म स्कुलमा आयोजना हुने प्रतियोगिताको लागि आयोजक यूकेएनएफबिएफ अहिले तिब्र तयारीमा जुटेको छ ।

यस वर्षको प्रतियोगितामा मेन्स् ओभरअल, बिकनी फिटनेस, मेन्स् फिजिक र मेन्स् मास्टर (ओभर ४०) गरी कुल ४ विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा २० भन्दा बढि प्रतिस्पर्धीले भाग लिनेछन् । अहिलेसम्म ८ जनाले नाम दर्ता गरिसकेको आयोजकले बताएका छन् । प्रतियोगीको नाम दर्ताका लागि अन्तिम मिति अप्रिल २१ सम्म छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ हजार पाउण्डको नगद पुरस्कार दिइनेछ जुन माइकल उसर गोर्खा मोर्गजेजले प्रायोजन गरेको छ । त्यस्तै दोस्रो र तेस्रो हुनेलाई ५ सय पाउण्ड तथा ३ सय पाउण्डको पुरस्कार राखिएको छ । दोस्रो पुरस्कार एनआरएन यूके तथा तेस्रो पुरस्कार साम्स् क्लिनिंग सर्भिसेज लिमिटेडबाट सरोज केसीले प्रायोजन गर्दैछन् । मेन्स् मास्टर (ओभर ४०) विधाको विजेतालाई ३ सय पाउण्डको नगद पुरस्कारको प्रायोजन भने एनआरएन यूके उपाध्यक्ष पुनम गुरुंगले गर्दैछिन् ।

प्रतियोगिताका दिन उपस्थित भएर सम्पुर्ण प्रतियोगी खेलाडीहरुको हौसला बढाइदिन यूकेएनएफबिएफका अध्यक्ष किशोर गुरुंगले बेलायतबासी नेपालीहरुलाई आव्हान गरेका छन् ।

प्रतियोगिता हेर्न भिआइपी टिकट २५ पाउण्ड तथा साधारण टिकट १० पाउण्डको राखिएको छ । प्रतियोगिताकै अवसरमा मोडल अनिता लिम्बूको नृत्य तथा गायन सुदान गुरुंगको गायन लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि गरिनेछ ।

प्रतियोगिताको संयोजन आयोजक यूकेएनएफबिएफका उपाध्यक्ष सुक गुरुंगले गरिरहेका छन् । प्रतियोगिताका विजेतालाई नेपाली समाजमा स्थापित गराएर विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्महरुसम्म पुर्याउने आयोजकको लक्ष्य छ ।