होमप्रसाद लम्साल ।

अमेरिका- बाहिरबाट हेर्दा ह्वाईट हाउस एक हिसावले संसारलाई खबरदारी गर्ने महाशक्ति केन्द्र हो। अमेरिकनहरु ह्वाईट हाउसलाई जनताको घर भन्न रुचाउँछन। सन् १७९२ मा प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले राष्ट्रपति भवन बनाउन रुचाएको स्थानमा आईरिस आर्किटेक जेम्स होवनको डिजाइनमा निर्माण गरिएको ह्वाईट हाउसको आकर्षण विश्वका लागि थप बढ्दो छ। चर्चाका हिसाबले त डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी हुँदै गर्दा संसारको आँखा त्यहि ह्वाईट हाउसमा केन्द्रित रह्यो। कारण ह्वाईट हाउसले तय गर्ने नीतिले संसारलाई झट्का दिन्छ।

त्यो भवनमा पुग्ने वा अवलोकन गर्ने रहर त संसारकै मानिसहरुका लागि चाहाना हुनु स्वाभाविक पनि हो। त्यहि भवनभित्र काम गर्ने अवसर संसारकै नागरिकहरुका लागि निकै दुर्लभ अवसर हो। त्यहि दुर्लभ अवसर पाउने एक जना नेपाली हुन सन्जिता प्रधान। नेपालको दुर्गम पहाडी जिल्ला संखुवासभाको चैनपुरमा जन्मिएकी एक नेपाली चेली अमेरिकी राष्ट्रपतिको सल्लाहकार समूहमा काम गर्ने गर्ने अवसरमा पुगेकी छन्।

जब सन् २००६ को नोभेम्बर अन्त्यतिर डिभी लोटरीबाट अमेरिका आउने फाईनल भयो, त्यसपछि उनको जीवनमा आश्चर्यजनक ढंगले परिवर्तनका अवयवहरु कोरिन थाले। अमेरिका आएदेखि नै समाज सेवामा निरन्तर खटिएकी उनी त्यहि समाजसेवाको माध्यमबाट नजानिदो ढंगले अमेरिकी सरकारको आँखामा पर्न थालिन र १० बर्षको अनवरत परिश्रमले अन्तत ह्वाईट हाउसको यात्रा तय हुन पुग्यो।

उनकै शब्दमा भन्ने हो भने सन्जिताले आफ्नो अनगिन्ती पारिवारिक र घरायसी समस्याहरुलाई पन्छाउँदै विश्वका विभिन्न देशबाट अमेरिका आउने शरणार्थीहरुलाई सहयोग गर्न अहोरात्र जुटिन्। कहिले ग्रोसरी किन्न, कहिले अस्पताल लैजान त बच्चाबच्चीका लागि स्कुल छान्न होस वा शरणार्थीका लागि आर्थिक, सामाजिक र पारिवारिक सहयोगका लागि दिन रात नभनी निस्वार्थ खटिईन। त्यस अवधिमा उनले नेपालसहित ईराक, बर्मा, सुडान, लाईबेरिया, ट्यूनिसिया, पाकिस्तान लगायत देशबाट अमेरिका आएका शरणर्थीहरुको लागि काम गरिन्। निरन्तर रुपमा सेवा गरिरहिन र आइओवा राज्यको स्थानीय सरकारको आँखामा पर्दै गईन। स्थानीय रुपमा आइओवा राज्यमा लुथरन सर्भिसमा २ बर्ष काम गरेकी उनी सोही राज्यको क्याथोलिक च्यारिटीमा निरन्तर काम गरिन। त्यसैगरी उनले बर्मिज सम्बन्धि एड्भोकेसी र रिसोर्स सेन्टरमा काम गरेर विगत पाँचबर्षदेखि आईओवा राज्यमा गर्भनरद्धारा स्थापित डिपार्टमेन्ट अफ ह्यूमन राईट एसिया प्यासेफिक आईल्याण्डर अफेयर्समा कार्यरत रहेकी छिन। उनले त्यहाँ गरेको कामसंग मिल्दो जुल्दो गरी राष्ट्रपतिको सल्लाहकार समूह प्रेसिडेन्टल एड्भाईजरी कमिसन अन एसियन एण्ड प्यासिफिक आईसल्याण्डर (एपिआई) मा काम गरिसकेकी छन्।

त्यहि काम गर्ने शिलशिलामा प्रसस्तै अनुभव संगालेकी सन्जिताले भनिन् ‘मैले सयौ त्यस्ता शरणार्थीका रुपमा अमेरिका आएकाहरुलाई यहाँको सिस्टम सिकाउन र उनिहरुलाई घर खोज्नेदेखि बच्चालाई स्कुल छोड्नसमेत सहयोग गरे। यद्दपि अहिले पनि त्यो काम मौका मिल्दा निरन्तर गरिरहेकी छु।‘

त्यहि अनुभवका आधारमा सन् २०१५ मा उनी अमेरिकी राष्ट्रपति बाराक ओवामाको प्रसिडेन्ट एडभाईजरी कमिसन अन एसियन एण्ड प्यासिफिक आईसल्याण्डर (एपिआई)मा काम गरेकी थिइन्। २०१७ सम्म पदावधि भएपनि राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनी सहित उनको समूहले काम छोडेको थियो।

उनले भनिन् ‘मलाई हल्ला भन्दा नी काम गर्नु छ। जुन परिणामबाट म र हामी जस्ता आप्रवासीको लागि सहयोग होस।‘ यतिखेर आप्रवासीका लागि काम गर्छु भन्नु सन्जिताको लागि मात्रै नभएर सबैका लागि निकै चुनौतिपूर्ण छ। कारण अमेरिकाको वर्तमान राज्य संयन्त्र अमेरिकामा रहेका आप्रवासीबिरुद्ध खनिएको छ। एकपछि अर्को गर्दै आप्रवासीको उठिबास गराउन कम्मर कसेर ट्रम्प प्रशासन लागि रहँदा सन्चिता ढुक्कले अर्को निर्वाचनमा डेमोक्र्याट जिताएर गुम्दै गएको आप्रवासीको अधिकार पुर्नस्थापना गर्ने कार्य खटिएकी छिन्।

झण्डै डेढ बर्ष ह्वाईट हाउसमा काम गर्दा एक पटक राष्ट्रपति ओवामा लाई भेट्न पाएको उनले सुनाइन्। ह्वाईट हाउस ईनिसियटिद्धारा आयोजित विभिन्न डिनर कार्यक्रममध्ये एक कार्यक्रममा उनले राष्ट्रपति ओवामासंग छोटो समय आफ्नो टीमका चार जनाले भेट्ने अवसर पाएको बताईन। उनले उपराष्ट्रपतिको निवासबाटै निमन्त्रणा पाएर कार्यक्रममा सहभागी भएकी थिईन जुन अवसरलाई उनले स्मरणीय रहेको बताइन्।

सन्जिताको अनुभवमा एसियनहरु प्राय जसो ग्रीनकार्ड लिएर नागरिकता नलिने आप्रवासी समुदाय हो। उनले राजनीतिक रुपमा पाएको महत्वपुर्ण अनुभव के भने जहिलेसम्म नागरिक भएर मतदानको अधिकार पाईन्न अधिकारका लागि राजनीतिक तहमा अधिकार व्ययस्थापन गर्न कठिन हुने रहेछ। आखिर राजनीतिक हिसावले जसले मतको कदर गर्दछ उसैले अधिकारको लडाईमा सफल हुन्छ। त्यसैले उनको भनाई सबै भन्दा पहिले समय पुगेका हरेक व्यक्तिले नागरिकता लिएर मताधिकार सुरक्षित गरेपछि मात्रै अमेरिकनमा पाईने धेरै अधिकारको लडाईमा सहभागी हुन पाईन्छ, अन्यथा राजनीतिक अधिकारबाट बन्चित रहेसम्म धरै अधिकार पाईदैन।

एसियन अमेरिकन खासै अपराधिक गतिविधिमा नलाग्ने ईमान्दारपूर्वक काम गर्ने, पढेलेखेका खास गरी त्यतिधेरै सुविधा पनि नचाहने सज्जन वर्गमा पर्ने हिसावले अमेरिकी सरकारले ‘मोडल माईनोरिटी’ भन्ने गरेको सन्जिताले सुनाइन्।