८ बैशाख २०८१, शनिबार
Follow Us

ईनासको छैठौ यूरोपियन कार्यक्रममा मारुनी, सोरठी देखि चुट्का सम्म प्रस्तुति हुने

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७४, मंगलवार २२:१४

लण्डन । लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी तिब्र गतिमा भईरहेको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रमको तयारीमा तिब्रता दिईएको हो।

आगामी अप्रिल २१ र २२ तारिख लण्डनमा हुने कार्यक्रम ईनासको छैठौं यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता एवं तेश्रो इनास यूरोप महादेशस्तरीय एकल नेपाली गायन प्रतियोगिता हो। साथै छैठौं यूरोप क्षेत्रीय बैठकको पनि आयोजना गरिएको ईनासले जनाएको छ।

युरोपमा प्रतिभा प्रस्फुटनका लागि चर्चित बन्दै गएको ईनासको कार्यक्रममा कलाकारहरुले बिभिन्न देशहरुबाट सहभागिता जनाउने भएका छन्। स्विट्जरल्याण्ड, जर्मनी, स्पेन, लक्जेम्बर्ग, पोल्याण्ड, ईटाली, बेलायत, फिनल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, पोर्चुगल, चेक रिपब्लिक जस्ता युरोपियन मुलुकहरुबाट नेपाली कलाकारहरुले भाग लिने भएका हुन्।

नृत्य प्रतियोगितामा लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक(नेपाली पप, आधुनिक, ज्याज, ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा फरक विधाका गीतहरुमा नृत्य प्रस्तुत गर्नेछन।

प्रतियोगितामा बिजेता कलाकारलाई इनास युरोप महादेशको लागि एक वर्षे कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सदभावना दूत नियुक्त गरिनुका साथै “इनास युरोप नेपाली डानसिङ्ग स्टार र सिङ्गिङ स्टार २०१८” को उपाधि सहित ७ सय १ युरो नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ। त्यस्तै दुवै विधा तर्फको उपबिजेता र तेस्रो हुनेले क्रमसः ५ सय र ३ सय युरो सहित पुरस्कृत हुने भएका छन्। आयोजकका अनुसार प्रतियोगितामा १३ बर्षभन्दा माथि उमेर समूहकाले मात्र प्रतियोगितामा भाग लिने पाउनेछन्।

ईनासले बिजयी कलाकारहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम, चलचित्र तथा म्युजिक भिडियोहरुमा नृत्य, गायन तथा अभिनयको लागि समेत अवसरहरु प्रदान गर्दै आएको छ। इनास युरोपका संयोजक अर्जुन काफ्ले तथा ईनास युकेका अध्यक्ष रजनी सुनुवारले कार्यक्रम सफल पार्न युरोपबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।