१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीको कुटनीतिक ब्रिफिङमा माओवादी मन्त्री किन गएनन ?

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७४, बुधबार ०५:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘ब्रिफिङ’मा माओवादीका मन्त्रीहरु अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा एमालेबाट मन्त्री बनेका रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै एमालेका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल पनि ‘ब्रिफिङ’मा सहभागी हुनुहुन्थ्यो । तर सत्ता साझेदार पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने अनुपस्थित हुनु भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५०–५० प्रतिशत हैसियत नभएसम्म पार्टी एकता नहुने घोषणा गरेको भोलिपल्ट माओवादीका मन्त्रीहरु अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमाले र माओवादीबीच प्रधानमन्त्री ओलीको भारत भ्रमण अगावै चैत २३ गते भित्र पार्टी एकता गर्नेबारे गृहकार्य सुरु भएको थियो । तर समान हैसियत नभएसम्म पार्टी एकता हुन नसक्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिले एकता प्रक्रियाले मूर्त रुप पाउनेमा शंका उब्जिएको छ ।