१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्थायी शिक्षक परीक्षा सर्दैन : आयोग

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७४, बुधबार १४:४५

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि यही चैत २३ गते हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताउनुभयो । परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ ।

परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले बताउनुभयो ।

परीक्षामा झापामा २६, काठमाडाँैमा ३०, कास्कीमा ३२, बाँकेमा १७ र कञ्चनपुरमा ११ परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षक आन्दोलनतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, “परीक्षा नै नदिई ६० वर्ष कटाउन चाहने, परीक्षामा उत्तीर्ण हुन सक्दिन भन्ठान्ने र २०७२ पछि नियुक्ति पाएकाहरुले गरेको आन्दोलनले परीक्षा रोकिँदैन ।”

आयोगका सचिव एवं प्रशासकीय अधिकृत डा तुलसी थपलियाले परीक्षा सञ्चालनका लागि प्रजिअको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको बताउनुभयो । उहाँका अनुसार हरेक केन्द्रमा एक एक गरी ११६ केन्द्राध्यक्ष, २३२ सहायक केन्द्राध्यक्ष र एक हजार २८३ निरीक्षक परीक्षामा खटिनेछन् ।

उहाँले दरखास्त कम परेर बचत हुने, ७५ प्रतिशत विज्ञापन गरेर बाँकी रहेको पद, २.५ प्रतिशतका दरले हरेक वर्ष रिक्त रहँदै आएको दरबन्दी संख्या, अस्थायी शिक्षकको परीक्षामा उत्तीर्ण हुन नसकी रिक्त रहन आएको पदसंख्या गरी करीब ११ हजारभन्दा बढी पदमा खुला परीक्षामार्फत पदपूर्ति गर्न सकिने जानकारी दिनुभयो ।