१३ बैशाख २०८१, बिहीबार
Follow Us

कार्यदलको प्रतिवेदन तयार, भोलिको बैठकमा छलफल हुने

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०७४, बुधबार १५:०३

काठमाडौं । पार्टी एकतापछि बन्ने नयाँ एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार पार्न गठित समितिले प्रतिवेदन तयार पारेको छ। बुधबार बसेको कार्यदलको बैठकले एकीकृत पार्टीको सांगठनिक तथा सैद्धान्तिक खाका तयार पारेको हो । बैठकमा सहभागी कार्यदलका एक सदस्यका अनुसार एकतापछि कम्युनिस्ट पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय रहने छ।

जसमा पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ३३ सदस्य रहने बताइएको छ। राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर, उपमहानगर, नगर तथा गाउँ, वडा र प्रारम्भिक कमिटी रहने बताइएको छ। पार्टीको प्रदेश कमिटी १५० सदस्यीय, जिल्ला कमिटी न्यूनतम ७५ देखि अधिकतम १२५ सम्म रहनेछ। निर्वाचन क्षेत्रीय कमिटी ७५ सदस्यीय रहनेछ। प्रतिनिधि र प्रदेश क्षेत्रको छुट्टाछुट्टै कमिटी रहने स्रोतले बतायो।

महानगर कमिटी पनि ७५ सदस्यीय, उपमहानगर ६१ सदस्यीय नगर तथा गाउँ ५१ सदस्यीय रहने कार्यदलले प्रस्ताव गरेको छ । यस्तै, २५ सदस्यीय वडा र १५ सदस्यीय प्रारम्भिक कमिटी रहने बताइएको छ। बैठकमा केही विषयमा भने सहमति जुट्न सकेन। स्रोतका अनुसार बैठकमा चुनाव चिन्ह के राख्ने र माओवादी जनयुद्ध पार्टीको दस्तावेजमा राख्ने प्रस्तावमा भने सहमति जुटेन । एमालेले सूर्य चुनाव चिह्‍न राख्नुपर्ने बताए पनि माओवादीले यसमा सहमति जनाउन सकेन ।

यी नमिलेका प्रस्तावलाई एकता संयोजन समितिको बैठकमा छलफलमा राख्ने बताइएको छ ।  यस्तै, राजनीतिक प्रतिवेदन तयार पार्न गठित राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले पनि बिहीबार आफ्नो काम सक्ने बताएको छ। बुधबार बैठक बस्ने भनिए पनि बिहीबार मात्र बैठक बस्न लागिएको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। उनले भने, ‘हाम्रो पनि भोलि सकिन्छ । मोटामोटी प्रतिवेदन तयार भएको छ। भोली ४ बजे बस्ने बैठकले सबै टुंगो लगाउँछ।