१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रपति भण्डारीले आज संसदमा सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७४, बिहीबार ०४:५८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) लाई सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो ।

नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । सो धाराको दफा (१) राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ ।

यही संवैधानिक व्यवस्था अनुसार, चैत १२ को मन्त्रिपरिषद् बैठकले सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेको थियो । सरकारले गरेको आग्रह अनुसार, राष्ट्रपतिले आज संघीय संसदका सदस्यहरुलाई संयुक्त सम्बोधन गर्न लागेकी हुन् ।
संघीय संसद् सचिवालयले अपराह्न ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनको संयुक्त बैठक हुने जानकारी दिएको छ । सम्बोधनको सम्पूर्ण तयारी सचिवालयले पूरा गरेको छ ।

राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिबाट अलग्गै सम्बोधन हुनेछ ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्र घोडाको बग्गीमा चढेर संसदमा आउने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले राष्ट्रपतिको स्वागत गर्नेछन् । बैठक कक्षमा राष्ट्रपतिले आसन ग्रहण गरेपछि प्रधानमन्त्रीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नेछन् । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुने छैन ।