१२ बैशाख २०८१, बुधबार
Follow Us

कूटनीतिक भेटघाटमा परराष्ट्रको स्वीकृति अनिवार्य

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७४, बिहीबार ०५:०६

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ ।  मन्त्रालयको बुधबार बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी पदाधिकारीसँग भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले बताउनुभयो ।

मन्त्रालयले बुधबार ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहका पदाधिकारीलाई विदेशी कूटनीतिज्ञसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रअनुसार निर्देशन दिइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारका जनप्रतिनिधिले विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्ने सम्बन्धमा आवश्यक कानून बनाइरहेकोले त्यो कानून नबनेसम्मका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरेको हो ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशी नियोग र विदेशी पदाधिकारीसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो ।