१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चैत्राष्ठमी मेला लाखौँको आकर्षण

sarusaru
१५ चैत्र २०७४, बिहीबार ०७:२८

जिल्ला सदमुकाममा रहेको कालिका भगवती गुठी व्यवस्थापन समितीको आयोजना सम्पन्न चैत्राष्टमी मेला २०७४ को लाखौं दर्शकले अवलोकन गरेका छन् । गत चैतको ९ गतेदेखी १३ गतेसम्म चलेको मेलाको ५ लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । मेला हेर्नको लागि टिकटको व्यवस्था नगरीएकाले यती नै दर्शक आए भन्ने अवस्था नभए पनि ५ लाख ५० हजारको हाराहारीमा दर्शक आएको कालिका गुठी व्यवस्थापन समितीका अध्यक्ष राजु खड्काले बताए । परम्परागत रुपमा हुँदै आएको मेलालाई निरन्तरता दिँदै धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउन भन्दै मेला आयोजना गरिएको थियो ।
चैत्राष्टमीको बेला कालिका भगवतीको दर्शन गर्न आउनेको संख्या बढि हुने र मन्दिरमा आएका सबै भक्तालु मेलामा सहभागी भएकाले दर्शकको संख्या बराबर रहेको खड्काले जानकारी दिए । आर्थिक कारोवार भन्दा पनि मन्दिरको प्रचार–प्रसार र धार्मिक पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउनको लागि मेला आयोजना गरिएको खड्काले बताए । ‘हामीले मेलामा के कति कारोवार भयो भनेर लेखाजोखा गरेनौं’ खड्काले भने ‘नाफा घाटाको कुरा भन्दा परम्पराको निरन्तरतामा हाम्रो ध्यान केन्दित भयो ।’ बिगतमा बर्षहरुमा जस्तै यस बर्ष पनि दर्शको संख्या उल्लासमय रहेको भन्दै खड्काले कालिका भगवती र चैत्राष्टमी मेलाको गरिमा नघटेको दाबी गरे ।
मेलाका अवसरमा परम्परागत रुपमा बिक्री बितरण हुँदै आएका स्थानिय उत्पानको बिक्री बितरणमा भने कमी आएको उनको भनाई छ । ‘पहिलेको जस्तो डाला, नाङ्ला, ठेकी, भदाला बेच्नेहरु कम आए’ खड्का भन्छन्– ‘आधुनिक मेसिनरी र प्लास्टिकका भाडाका कारण व्यापार घटेकाले व्यवसायी कम आएका हुन् । विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मेलामा २० लाख आम्दानी र सोही अनुपातमा खर्च भएको प्रारम्भिक अनुमान गुठीले गरेको छ । मेलाका कारण बजारमा करोडौंको आर्थिक कारोवार भएको भएपनि आम्दानी खर्चका हिसाबले गुठीले मितव्ययी कारोवार गरेको अध्यक्ष खड्काले बताए ।
-ढोरपाटन दैनिकबाट ।