७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगितामा १० देशबाट ४० बढि प्रतियोगीले भाग लिने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७४, बिहीबार १९:०५

लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेलायत र युरोप शाखाको संयुक्त आयोजनामा लण्डनमा सञ्चालन हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी अहिले तिब्र भइरहेको छ । अप्रिल २१ र २२ मा तय प्रतियोगितामा बेलायत र युरोपका विभिन्न देश गरी कुल १० देशबाट आउने ४० बढि प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् ।

आयोजक ईनास बेलायतले बुधबार सांझ लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा एक प्रेस मिट आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको थियो । प्रतियोगितामा बेलायतबाहेक डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड,फिनल्याण्ड, स्विजरल्याण्ड, इटली र स्पेनबाट प्रतियोगीहरु आउने जानकारी प्रेस मिटमा दिइयो ।

यो प्रतियोगितामा नृत्य र गायनतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ । इनास युरोप महादेशस्तरीय एकल नृत्य प्रतियोगिताको यो छैठौं संस्करण हो भने गायन प्रतियोगिताको तेस्रो । नृत्य तथा गायन दुवै विधातर्फ होस्ट देश बेलायतबाट ३/ ३ जना प्रतियोगीले भाग लिनेछन् भने अन्य सहभागी देशबाट २ /२ जना प्रतियोगी आउनेछन् । प्रतियोगितामा सहभागी हुने हरेक देशस्थित ईनास शाखाले आफ्ना प्रतियोगीहरु अडिसनमार्फत चयन गरिसकेका छन् ।

प्रतियोगितामा दुवै विधाका विजेतालाई ७ सय १ युरो नगदसहित ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ । गायनतर्फका विजेतालाई एउटा गीत रेकर्ड गराउने अवसर दिइनेछ भने नृत्यतर्फका विजेतालाई अनुकुलताअनुसार म्युजिक भिडियोको मौका पनि दिने योजना आयोजकको छ । त्यसबाहेक दुवै विजेतालाई १ वर्षसम्मका लागि ईनास सद्भावना दूत घोषणा गरिनेछ । नृत्य तथा गायन दुवै विधाका दोस्रो र तेस्रो हुनेले क्रमश ५ सय १ युरो र ३ सय १ युरोसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताका लागि नेपालबाट समेत कैयौं कलाकर्मीहरु बेलायत आउने भएका छन् । नारायण पुरी, धिरेन शाक्य, कृष्णभक्त महर्जन, दमन रुपाखेती, मधु क्षेत्री, परशुराम रिजाल लगायत लण्डन आउने पक्का भइसकेको तथा अन्य केहिको भिसा प्रक्रिया चलिरहेको बताइएको छ । अमेरिकाबाट समेत केहि नेपाली कलाकारहरु आउने तयारी छ । प्रतियोगितामा निर्णयक प्रतियोगी देशका ईनास कार्यसमितिमा आबद्ध कसैलाई पनि नराख्ने आयोजकले बताएका छन् । नेपालबाट आउने अतिथी कलाकारहरुमध्येबाट निर्णयकहरु चयन गरिनेछ ।

आउंदो अप्रिल २२ तारिखका दिन प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा दिउंसो ३ बजेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । जसमा नृत्य तथा गायन दुवै विधाका प्रतिस्पर्धीले २/ २ वटा प्रस्तुति देखाउन पाउनेछन् । प्रतियोगिता प्रत्यक्ष हेर्न चाहने दर्शकका लागि २० पाउण्डको टिकट लाग्नेछ ।

त्यसअघि अप्रिल २१ मा भने वुल्वीचको मुलग्रेभ प्राइमरी स्कुलमा दिउंसो ४ बजेदेखि कार्यक्रम सुरु हुनेछ । जुन दिनमा ईनास युरोपको छैठौं बैठक, वार्षिक कार्ययोजना निर्माण, बन्दसत्र र रात्रीभोज लगायतका कार्यक्रम तय छन् ।

ईनास बेलायत र युरोप शाखाको आयोजनामा हुन लागेको प्रतियोगिता भएपनि होस्ट देशका रुपमा यसको मुख्य जिम्मेवारी बेलायतमाथि छ । आफुहरुकै विशेष जोडबलमा बेलायतमा पहिलोपटक ल्याइएको यो प्रतियोगिता जसरी पनि सफल बनाउनैपर्ने दबाबमा अहिले आयोजक छन् ।

प्रतियोगिताका लागि युरोप तथा नेपालबाट आउने प्रतियोगी , अतिथी कलाकर्मीहरुलाई केहि दिन लण्डनमा राख्ने सम्पुर्ण बन्दोबस्त पनि ईनास बेलायतले नै गर्नुपर्नेछ । यसका साथै सिंगो कार्यक्रम व्यवस्थापनको कुल बजेट १५ हजार पाउण्ड सम्म पुग्न सक्ने आयोजकले बताएका छन् ।

प्रेस मिटमा आयोजकले प्रतियोगिता सफल पारिदिनका निम्ति बेलायतको नेपाली समुदायलाई अपील गरेका छन् । ईनास बेलायतकी अध्यक्ष रजनी सुनुवारले यहांको नेपाली समुदाय तथा मिडियाको साथ, सहयोगबिना कार्यक्रम सफल हुन नसक्ने भन्दै सहयोगका लागि अपील गरिन् ।

ईनास बेलायतका प्रमुख संरक्षक तथा ईनास ग्लोबलका महासचिव मनिषकुमार श्रेष्ठले ईनास तथा यो प्रतियोगिताको पृष्ठभुमिबारे बताउंदै बेलायतमा प्रतियोगिता ल्याउनका लागि आफुहरुले ठूलो मेहनत गर्नुपरेको स्मरण गरे ।

बेलायतमा प्रतियोगिता ल्याउनका लागि विशेष पहल गरेका ईनास बेलायतका सल्लाहकार यादव भण्डारीले यो प्रतियोगिताको सफलता बेलायतको सिंगो नेपाली समुदायको प्रतिष्ठासंग पनि जोडिने धारणा राखे । ईनास ग्लोबलका सल्लाहकार दिपक श्रेष्ठले कार्यक्रमको अवधारणा निकै महत्वपुर्ण र आयोजकको पहल प्रशंसनीय भन्दै कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका संयोजक तथा ईनास बेलायतका उपाध्यक्ष प्रमोदराज न्यौपानेले कार्यक्रमको तयारीबारे विभिन्न जानकारी गराए । ईनास बेलायतका महासचिव सञ्जय कंडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

त्यसअवसरमा ईनास बेलायतका सल्लाहकारहरु लब विक्रम गौतम र विनय अधिकारी, सचिव गुणदेव घिमिरे, कोषाध्यक्ष दिपक थापा, सदस्यहरु सिम्मी पुन, विनोद चिपालु, राजेन्द्र खस, प्रकाश (अभि) महर्जन लगायत उपस्थित थिए । प्रेस मिटमा उल्लेख्य संख्यामा उपस्थित बेलायतका नेपाली पत्रकार तथा सञ्चारकर्मीहरुले प्रतियोगिताबारे विभिन्न जिज्ञासाहरुको साथ विभिन्न सल्लाह, सुझाव पनि दिएका थिए ।