१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतमा बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट समातिए

sarusaru
१६ चैत्र २०७४, शुक्रबार ०७:२२

काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जनालाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरेको थियो ।

लगत्तै, उनको खोजीमा प्रहरी परिचालित भएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखेर आवश्यक सोधपुछ भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदले अनलाइनखबरलाई बताए ।

उनले प्रारम्भिक बयानका क्रममा आफू पनि त्यो घटनामा अन्यसँगै रहेको स्वीकारेको स्रोतको भनाइ छ । यद्यपि, घटनामा उनको संलग्नता बारे खुलाइएको छैन ।

एनसीबी नेपालकी प्रमुख किरण बज्राचार्यले पनि मुम्बई इन्टरपोलबाट आएको सूचनाको आधारमा उनलाई ‘लोकेट’ गरिएको बताइन् ।

घटनामा बैंकका दुई सेवाग्राही चेन्नाईकै मरिया एन्बालागान र यूएईकी सुचित्राको लकरबाट ४० लाख रुपैयाँ बराबरको नगरगहना र नगद चोरी भएको थियो ।

भारतीय प्रहरीका अनुसार उनीहरु झ्यालको फलामे रडलाई ‘ग्यास कटर’ले काटेरभित्र छिरेका थिए । उनीहरुले ग्यासकै प्रयोगबाट लकर तोडेको समेत जनाइएको छ । घटनामा अन्य नेपालीको पनि संलग्नता रहेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी स्रोतका अनुसार थप दुई जना नेपाललाई भारतमा नियन्त्रणमा लिएर सुधपुछ भइरहेको छ ।

-अनलाइन खबरबाट ।