७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीको भारत भ्रमणमा कलाकार पनि

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७४, शुक्रबार १४:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तनका ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताउनुभएको छ । नेपाल कलाकार संघद्वारा आज यहाँ आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिइने जानकारी दिनुभयो ।

छिट्टै भारत र नेपालका कलाकारबीच अन्तक्र्रिया गरी कला क्षेत्रको विकास र विस्तारमा थप सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “कला क्षेत्रको विकास गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्छु, कलाकारले सामाजिक जीवनको समग्रताको पक्षमा चलचित्र निर्माण गर्नुपर्छ ।”

शाहलाई ‘दीर्घ साधना’ सम्मान
पचास वर्ष कला क्षेत्रमा बिताउनुभएका कलाकार नीर शाह आज ‘दीर्घ साधना’ बाट सम्मानित हुनुभएको छ । पैँसठ्ठी वर्षीय शाहलाई रु एक लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मान गरिएको हो । शाहले सम्मानपछि पछिल्लो समय चलचित्र उद्योग गर्व गर्नलायकको जनाउँदै जीवनको उत्तराद्र्धकालमा आफूलाई ठूलो सन्तुष्टि मिलेको बताउनुभयो ।

नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले कलाकार सङ्घको भवन निर्माणका लागि जग्गा प्रदान गर्न सरकारसँग आग्रह गर्नुभयो । संघका महासचिव सरिता लामिछानेले चलचित्रको विकास र विस्तारका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रोत्साहनका लागि नयाँ कलाकार प्रदीप खड्कालाई पनि सम्मान गरिएको थियो ।