१६ चैत्र २०८०, शुक्रबार
Follow Us

खड्काको पार्थिव शरीर काठमाडौं ल्याइँदै, अन्त्येष्टि भोलि मात्रै

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७४, शनिबार ०७:११

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमवहादुर खड्काको पार्थिव शरीर आज अपरान्ह काठमाडौं ल्याइँदैछ । खड्काको ६६ वर्षको उमेरमा शुक्रवार भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

खड्काको पार्थिव शरीरलाई आज खड्काकै निवासमा राखिने र भोलि विहान नौ बजेदेखि दिउँसो एक बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने छ । त्यसपछि भोलि नै खड्काको अन्तिम संस्कार गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

उनी मिर्गौला, छाती र स्नायुसम्बन्धी समस्याबाट पीडित थिए । उनका दुवै मिर्गौलाले काम नगरेपछि दुई बर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई गत फागुनको पहिलो साता नयाँ दिल्ली लगिएको थियो ।

कांग्रेस नेता बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २ हजार ३३ सालमा भारतबाट नेपाल फर्किँदा शैलजा आचार्य, खुमबहादुर खड्का लगायत नेता पनि सँगै फर्किएका थिए । नेपाल फर्किएका नेता खड्का पञ्चायतको अवसान र प्रजातन्त्रको पुनस्र्थापनापछि पार्टी र सत्ता राजनीतिमा लामो समय शक्तिशाली भूमिकामा थिए ।

खड्काविरुद्ध अकुत सम्पति कमाएको आरोपमा मुद्दा परेको थियो । ६ वर्षअघि सर्वोच्च अदालतले दोषी ठहयाएपछि उनी जेल चलान गरिएका थिए । पछिल्लो समयमा उनले हिन्दू धर्मको पक्षमा आवाज उठाउँदै आएका थिए । खड्काको निधनप्रति प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा लगायतका नेताले समवेदना व्यक्त गरेका छन ।