१५ चैत्र २०८०, बिहीबार
Follow Us

खुमबहादुर पुत्र अनुराग बेलायतबाट आइतबार बिहान काठमाडौं आइपुग्ने

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७४, शनिबार १०:२८

काठमाडौं । बेलायतमा उच्च अध्ययन गर्दै गरेका कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्का आइतबार विहान काठमाडौं आइपुग्ने छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई आजै राति ९:०० बजे जेट एयरको उडानद्वारा नेपाल ल्याउने र राति उहाँकै निवासमा राखिनेछ ।

बेलायतमा उच्च शिक्षा अध्ययनरत उहाँका सुपुत्र अनुराग खड्का भोलि १८ गते विहान काठमाडौँ आउनु हुने कार्यक्रम रहेको छ । भोलि चैत्र १८ गते विहान स्वर्गीय खड्काको आफ्नै निवास, सानेपा, ललितपुरमा धार्मिक संस्कार, विधि र परम्परा अनुसार गर्नुपर्ने सम्पूर्ण प्रकृया पुरा गरिसकेपछि विहान ९:०० बजेदेखि अपरान्ह १:०० बजेसम्म उहाँको पार्थिव शरीरलाई पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

२०७४ चैत्र ९ गतेदेखि निर्वाचन समिक्षा सम्बन्धमा चलिरहेको केन्द्रीय कार्यसमितिको भोलि चैत्र १८ गते विहान ११:०० बजे बस्ने भनिएको सातौ दिनको बैठक स्वर्गीय खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।