८ बैशाख २०८१, शनिबार
Follow Us

डा केसी माथिल्लो डोल्पाका घरघरमा

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७४, शनिबार १४:४५

डोल्पा । डा गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुग्नुभएको छ । स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आइपुगेको डा केसीले जानकारी दिनुभयो ।

माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीसम्मले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले आफूले माथिल्लो डोल्पाको धो नै रोजेको बताउनुभयो । करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयबासीलाई घरमै उपचार गर्न औषधिसहित डा केसी यहाँ आइपुग्नुभएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहयोगमा डा केसीले तीन दिनसम्म त्यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ । स्वास्थ्य क्षेत्रका सामान्य कर्र्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान नै पाएको अनुभुति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले बताउनुभयो ।