१३ बैशाख २०८१, बिहीबार
Follow Us

मजाक नगर्न विप्लपलाई प्रधानमन्त्री ओलीको आग्रह

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७४, आईतवार ०५:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय भ्रमण द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा ओलीले भारत भ्रमण द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनु भएको हो । ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आउने चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

वाम गठबन्धनका अर्का शीर्षस्थ नेता प्रचण्डले विगतमा भारत वा चीन इतरको रुपमा नेपालका सरकारहरुलाई चित्रित गरिएकाले दुवै छिमेकबाट लाभ लिन नसकिएको भन्दै त्यस्तो अवस्था आउन नदिन सुझाव दिनु भएको थियो । सिंहदरबार पुनरागमनपछिको आफ्नो पहिलो विदेश यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने तयारी भइरहँदा त्यसलाई धेरैले चाँसोका साथ हेरेका छन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई राजनीतिक मजाक नगर्न आग्रह गर्नु भएको छ । आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको भनेर विप्लवले केटाकेटी खेल खेलेको उहाँको तर्क छ ।

‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू रे’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु ।’ प्रधानमन्त्री ओलीले अगाडि भन्नु भएको छ, ‘अलि बढ्ता भो क्या ।’ सार्वभौमसत्ता जनतामा आइसकेको भन्दै उहाँले शोखका लागि क्रान्तिकारी नहुन आग्रह गर्नु भयो ।