१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मणिपाल अस्पतालमा कर्मचारी र प्रहरीबीच झडप

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७४, सोमबार १२:११

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार आन्दोलनरत् कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी र ३ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइते हुनेमा प्रहरी जवानहरु विपीन थापामगर, गोविन्दराज कोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुना राज कोटी, अन्जना घर्ती र तुलसा पोखरेल रहेका छन् । कर्मचारीतर्फ राजबहादुर घर्ती, कर्णबहादुर केसी र अमर गुरुङ घाइते भएका छन् । उनीहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ ।

आन्दोलनकारीको प्रहारबाट अस्पताल भवनका केही सिसा फुटेका छन् । अस्पतालका कर्मचारीले ६ महिनायता तलब वृद्धि, बिदा, स्थायी गर्नुपर्नेलगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन गर्दै आएका थिए । उनीहरुले अस्पताल प्रशासनअगाडि धर्नासमेत दिँदै आएका थिए । प्रहरीले धर्नामा हस्तक्षेप गरेको आन्दोलनकारीले बताउँदै आएका छन् भने प्रहरीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अवरोध पुर्‍याउन खोजेको आरोप लगाएको छ ।

प्रहरीले कर्मचारी युनियन मणिपालका अध्यक्ष नवराज भण्डारीसहितको टोलीलाई पक्राउ गरेर लगेको मण्पिालका कर्मचारी पविन बास्तोलाले बताए ।