१५ चैत्र २०८०, बिहीबार
Follow Us

मलाला बेलायत फिर्ता

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७४, सोमबार १४:३८

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किनुभएको छ । चार दिनको पाकिस्तान भ्रमणपछि उहाँ सोमबारै इस्लामावादबाट लन्डन फिर्ता हुनुभएको समाचारमा जनाइएको छ । समाचारअनुसार उहाँका परिवार पनि उहाँसँगै बेलायत फर्किनुभएको छ ।

पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उहाँ पहिलो पटक स्वदेश फर्किनुभएको हो । स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उहाँको बेलायतमा उपचार भएको थियो । उपचारपछि उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गर्नुभएको हो ।

हाल पाकिस्तानमा रहँदा उहाँले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गर्नुभएको थियो । बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उहाँले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताउनुहुन्छ ।

उहाँको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ । उहाँले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भन्नुभएको थियो– म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ । उहाँले आँशु झार्दै भन्नुभयो– “अहिले त मेरो लागि ठूलै सुरक्षाको प्रबन्ध गरिएको होलाजस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु ।”