७ बैशाख २०८१, शुक्रबार
Follow Us

कतारले नेपाली कामदारलाई क्षतिपूर्ति दिने

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७४, मंगलवार ०७:३२

काठमाडौं । सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार खटिएका छन् । यी कामदारहरु ठूलो रकम तिरेर कतार पुगेको र शोषणमा परेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले बिदेशी कामदारलाई क्षतिपूर्ति दिने तयारी थालेको हो ।

कतार वर्ल्डकप आयोजक समितिले बिदेशी कामदारले करिव ५० लाख डलर (झण्डै ५० करोड रुपैयाँ) क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको एसोसिएटेड प्रेस एपीले जनाएको छ । खासगरी कामदार कतार जाँदा म्यानपावर कम्पनीलाई तिरेको रकम फिर्ता गर्ने मनसायले आयोजकले यस्तो कदम चालेको बताइएको छ ।

विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले ‘आफ्नो परिवारको हातमुख जोड्न देश छाडेर आएका कामदारहरु पीडित भएका छन्, उनीहरुलाई हामी क्षतिपूर्ति दिन्छौं’, भन्नु भएको छ । आयोजक कमिटी र ठेकेदारले कामदारलाई क्षतिपूर्ति दिने प्रकृया थाल्न सहमति गरेको उहाँले बताउनु भएको छ ।