६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन विज्ञ सम्मेलनको तयारी सम्बन्धमा सरोकारवालासँग छलफल

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७४, मंगलवार ११:२६

लण्डन। गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारिएको छ । सम्मेलनको तयारी स्वरुप १ अप्रिलमा संघले नेपालस्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न चार अनुसन्धान केन्द्र तथा अन्य विभागका प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा सहभागीहरुले यस सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्नुपर्ने भनाइ राख्नुभएको थियो ।

गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले नेपालमा गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीपप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष कुमार पन्तले नेपालमा अध्ययन र अनुसन्धानमा संलग्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुको सहयोगले सम्मेलन अझ बढी प्रभावकारी हुने र सो संलग्नता मार्फत विदेशमा बस्ने नेपालीसँग संस्थागत सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा विज्ञहरुसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएका विधान संशोधन समिति संयोजक डा।हेमराज शर्माको नेतृत्वमा सूचना संघद्वारा सरोकारवालाको छलफलबाट प्राप्त सुझाव समेटेर सम्मेलन सम्बन्धमा विस्तृत विवरण प्रकाशित गर्ने तय भएको छ ।
छलफलमा एनआरएनए एकेडेमी संयोजक डा. प्रमोद ढकालले सम्मेलनको उपयोग संस्थागत विकासमा हुनुपर्ने धारणा राख्नुभयो ।

यस्तै आयोजना सम्बन्धमा नेपालमा एक इकाई समेत स्थापना गर्ने निर्णय छलफलबाट भएको छ । सो छलफलमा गैर–आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, विधान संशोधन समिति संयोजक डा. हेमराज शर्मा तथा एनआरएनए एकेडेमी संयोजक डा प्रमोद ढकाल लगायतको उपस्थिति रहेको थियो ।