१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रमको भारत भ्रमणमा नयाँ एजेन्डा छैन: प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७४, मंगलवार १५:१३

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भारत भ्रमणका नयाँ एजेण्डा नभएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पुराना एजेण्डाको विषयमा छलफल हुने बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणअघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीचमा पार्टी एकता गर्ने भनिए पनि आवश्यक गृहकार्य पूरा नभएकाले आगामी वैशाख ९ गते पार्टी एकता घोषणा हुने स्पष्ट पार्नुभयो ।

“कार्यदलको आफ्नै सुझाव वैशाख ९ गते थियो, कार्यदलको रिपोर्ट आज बुझिदै छ, वैशाख ९ गतेलाई केन्द्रित गरेर पार्टी एकता घोषणाको कार्य अगाडि बढ्छौँ,” उहाँले भन्नुभयो– “कार्यदलबाट सर्वसम्मत रुपमा आज प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश हुने र त्यसको अध्ययनपछि शीर्ष तहले टुंगो लगाउनेछ ।”

अध्यक्ष दाहालले दुई कम्युनिष्ट धारको बीचमा एकता हुने बताउँदै त्यो एकता सिद्धान्ततः प्रतिशतका आधारमा नभएर सम्मानजनक बराबरी सिद्धान्तको आधारमा हुनेछ भन्नुभयो ।

यसअघि नेपालको पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा आयोजना गरेको बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यास तथा ६१ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रममा अध्यक्ष दाहालले देशको विकासका निम्ति सार्वजनिक, निजी र सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

नेपालको संविधानले देशको विकासका निम्ति तीनवटै क्षेत्रलाई आर्थिक विकासको खम्बाका रुपमा परिभाषित गरेको उल्लेख गर्दै उहाँले सहकारीलाई नेपालको आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाको रुपमा लिइएको छ भन्नुभयो ।

अध्यक्ष दाहालले सबैको सम्मान र समृद्धि राज्यको दायित्व भएको भन्दै देशमा व्याप्त बेथितिको अन्त्य गरी समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा दाहालले बखान सहकारीले निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्रालय भवनको शिलान्यास गर्नुभयो ।

करिब रु नौ करोडको लागतमा निर्माण गर्न लागेको संग्राहलयलाई रु पाँच करोड विनियोजन भइसकेको छ । नपुग रकम छिट्टै विनियोजनका लागि पहल गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

चार विगाहा जग्गा संग्राहलयका लागि छुट्याइएको छ भने दुई तले भवन दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ ।

संग्राहलयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्ती दून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएको औजार उपकरण, ऐतिहासिक पूराना पैसा, अन्य बहमूल्य समान राखिने छ ।

भ्रमणका लागि आउने समूहलाई आवासीय व्यवस्था, तालिम हल, भोजनालय, सहिद पार्क, सांस्कृतिक पहिचान झल्कने वस्तु राख्ने योजना पनि संस्थाको रहेको व्यवस्थापक अर्जुन ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक रवीन्द्र केसी, प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेल, बखान सिंह गुरुङका नाती चन्द्रध्वज गुरुङ, सहकारीका अध्यक्ष मोहनसिंह लामालगायतले सहकारीको विकास र विस्तारका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक जीवित सदस्य कृष्णमान गुरुङ, हर्कबहादुर गुरुङ र इन्द्रसिंह गुरुङलाई सम्मान गरिएको थियो ।