१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेचिएकी चेली भन्छिन् घर फर्कने कुरा सोचेकी पनि थिइन

sarusaru
२१ चैत्र २०७४, बुधबार ०३:५०

भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् ।पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उहाँलाई भारत पु¥याएर बेचेका हुन् । “यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,” ताराले भन्नुभयो – “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।”

“डेढ वर्षसम्म रोइ नै रहँे, रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हँुदैन” – उनले भनिन् । भारतको पन्जाब प्रान्त हँुदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै कामीले अहिले घरजम गर्नुभएको छ । यो दम्पतीको अहिले १५ वर्षको छोरो छ । सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो ताराले भनिन् – “छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।”

“यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,” उनले गहभरि आँशु पार्दै भनिन् – “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।” नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले बताइन् ।उनले भनिन्– “अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।” घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनी बताउँछिन्।

उनका अनुसार यस गाउँमा किनेर विवाह गर्ने चलन रहेको छ । “धनीले किनेर विवाह गर्छन्, गरिब भए विवाह नै हँुदैन”।
“छोरी अब जीवित छैन भनेर माया मारिसकेका थियौँ,” ताराकी आमा वीरमा कामीले भन्नुभयो – “भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ ।” चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कार्वाही गर्नुपर्ने उहाँले बताउनुभयो । “धेरै चेली गाउँबाट हराएका छन्, सबैको अवस्था पत्ता लगाउनुपर्छ,” उहाँले भन्नुभयो – “दलालहरुको पहिचान गरी न्याय दिन सक्नुपर्छ ।”

स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन् । तीन जनाको अवस्था अज्ञात छ ।

रासस