१५ चैत्र २०८०, बिहीबार
Follow Us

ओली–प्रचण्डको मित्रता अहिले पानी बाराबार

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७४, बुधबार १५:४१

काठमाडौं । कटुतापछिको मित्रताले गजबै कमाल देखायो । ओलीलाई सत्तामा र ०१५ सालपछिको सर्वशक्तिमान प्रधानमन्त्री बनायो । यी दुबै नेतामा मित्रता यत्ति बढ्यो कि दुबैले पार्टी एकीकृत गर्ने निर्णयसमेत गर्न पुगे । दुबै नेताभित्र आशंका बाँकी छ । एकीकरणमा आधा आधा कि ७०–३० को रेसियो, कुरा मिलेको छैन । त्यसैले ओलीले व्यङ्ग कसे– कोही कोही सिंगापुर बनाउँछु भन्थे, म नेपाललाई समृद्ध नेपाल बनाउँछु ।

सरकार र पार्टीमा एक एकजनाको प्रतिनिधित्व भन्ने प्रचण्डलाई ओलीले सत्ता आफूलाई र पार्टीमा दुबै अध्यक्ष भनेर आफ्नो बेट घट्न दिएनन् । चाउरिएको माओवादी केन्द्र अव आधा–आधा प्रतिनिधित्व भन्न थालेको छ । मौन बसेका केपी ओली शीरमा जनयुद्ध, शरीरमा आधा आधा भनेर प्रचण्डलाई फेरि घोच्न पुगेका छन् ।

यसको अर्थ– कुरो मिल्यो, लम्बाई चौंडाई मिल्यो, मन मिलेको छैन । हात्ती छि¥यो पुच्छर अड्क्यो । ओलीले प्रष्टै भनेका छन्– जनयुद्ध र आधाआधा स्वीकार हुन्न । के त्यसो भए प्रचण्डले कर्ण बन्न जुन सुरक्षा कवच निर्माण गर्दै थिए, त्यो सम्भव होला ?

अव एमाले चुनाव चिन्ह सूर्य भनिरहेको छ, हसिया हथौडा के गर्ने ? हेर प्रचण्डलाई माखेसांग्लो ? झुक्दा झुक्दा प्रचण्डले ओली खेलाए कि ओलीले प्रचण्डलाई नचाए, दुबै पार्टीभित्र अचम्मको अन्यौल बढेको छ । यो पेचिलो मुद्दाको निकासको साँचो केपी ओलीसँग छ, उनी कुनै हालतमा एमालेको सुप्रिमेसी कमजोर हुन दिने पक्षमा छैनन् । प्रचण्ड रुन्चे हाँसो ओलीका सामु हाँस्दैछन् ।

प्रचण्ड आफ्नो र पार्टीको पोजिसन एमालेको नियन्त्रणमा छाड्ने कि नछाड्ने, अझै प्रचण्ड जुधारु देखिएका छन्, ओली टसमस भएका छैनन, यो दुई पार्टीको एकीकरण के हुन्छ, कसरी हुन्छ ? कोही भन्न सक्दैनन, पर पर हटेजस्तो देखिन्छ । यसअघि प्रचण्ड ओलीमाथि यसरी खनिएका थिए कि मानौं अव मित्रता सकियो ।