१२ बैशाख २०८१, बुधबार
Follow Us

पत्रकार स्व क्षेत्रीको छोराको शिक्षाका लागि आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७३, शनिबार १४:२१

काठमाडौं । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको छोराको शिक्षाका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दम्पत्तीले रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँका साधारण सदस्य तथा केन्द्रीय सचिव क्षेत्रीको छोराको शिक्षाका लागि काठमाडौँ शाखाले निर्माण गरेको अक्षयकोषलाई पौडेल र उहाँकी धर्मपत्नी एन्जिला न्यौपानेले उक्त रकम सहयोग गर्नुभएको हो ।

पौडेलले आफ्नो यही वैशाख १५ गते भएको विवाह खर्च कटाएर स्व क्षेत्रीको छोराको शिक्षाका लागि सहयोग गर्नुभएको हो ।

नेता पौडेलले स्वर्गीय क्षेत्री बहुआयमिक व्यक्ति भएको भन्दै उहाँको परिवारका लागि राज्यले सोेच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले पत्रकारिताको विकास भएमात्र राजनीति पारदर्शी हुने भन्दै पत्रकारिताको विकासका लागि राज्यले विशेष चासो दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेता पौडेलले संविधान कार्यान्वयन नभएसम्म मुलुकका कुनैपनि निर्वाचन सम्भव नभएको भन्दै यथासक्य चाँडो निर्वाचन गर्न दलहरुबीच एकता हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन भएमात्र देशमा विकासको वातावरण सृजना हुन्छ ।”

नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्सालले स्वर्गीय क्षेत्रीको क्षमताको उचित सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस युनियनले स्व क्षेत्रीको परिवारका लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले कोहीपनि पत्रकारको अकालमा ज्यान नजाओस् भन्ने ध्ययका साथ पत्रकार स्वास्थ्य कोष स्थापना गर्न लागिएको बताउनुभयो ।

काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले स्व क्षेत्री पत्रकारिताका नक्षत्र भएको भन्दै उहाँको परिवारको सहयोगका लागि प्रेस युनियन काठमाडौँ शाखा सँधै लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारी, नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदी र केन्द्रीय सदस्य सुशील भट्ट, स्व क्षेत्रीको धर्मपत्नी सरिता खनाललगायतले शिक्षा र स्वास्थ्य मानव जीवनमा अति आवश्यक वस्तु भएकाले राज्यले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्नेमा जोड दिनुभयो ।

अक्षय कोष निर्माणका लागि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष धमलाले रु १० हजार, नेवि सङ्घका नेता पुष्प बस्नेत रु एक हजार, दिपेन क्षेत्रीले रु एक हजार, प्रेस युनियनका साधारण सदस्य इजाहर मिकरानीले रु एक हजार सहयोग गर्नुभएको थियो ।

यस्तै नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले रु ११ हजार १११, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माधव दुलालले महासङ्घको सम्पूर्ण बैठकभत्ता, नेवि सङ्घका उपाध्यक्ष डिल्ली सुवेदी रु पाँच हजार, केन्द्रीय सदस्य सुशील भट्ट रु पाँच हजार र नेवि सङ्घ नेता हरि आचार्यले रु पाँच हजार दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।