८ बैशाख २०८१, शनिबार
Follow Us

चीन र भारतको राजदूत नियुक्ति प्राथमिकतामा : डा. महत

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७३, शनिबार १४:२६

काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय स्वार्थलाई सुरक्षित गर्दै विश्वासका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने बताउनुभएको छ ।

रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “दुई छिमेकी मुलुकले गरेको विकासबाट हामीले फाइदा लिनसक्नुपर्छ, विश्वासका आधारमा आपसी सम्बन्धलाई अगाडि बढाएर नै नेपाल समृद्धिको बाटोमा अगाडि बढ्छ ।”

आफूले अर्थतन्त्रको मुख्य सूचक बनेको वैदेशिक रोजगारलाई प्राथमिकता दिने जानकारी दिँदै मन्त्री महतले विदेशमा बसेका नेपालीको सुरक्षा हाम्रो प्राथमिकता हो भन्नुभयो ।

भारत, चीनलगायतका मुलुकमा राजदूत नियुक्तीलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गर्दै उहाँले सरकारले जनताको विश्वास जितेर काम गर्ने दाबी गर्नुभयो ।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएका प्रतिवद्धता तथा समझदारीलाई कार्यान्वन गर्न सरकारले विशेष प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री महतले संविधानको कार्यान्वयनका लागि सबैसँग सहमति गरेर अगडि बढ्ने बताउनुभयो ।

उहाँले संविधानमा असन्तुष्टी जनाउने पार्टी र प्रतिपक्षलाई पनि विश्वासमा लिएर संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै त्यसका लागि सरकारी एवम् राजनीतिक तहमा अनौपचारिक वार्ता सुरु भएको जानकारी दिनुभयोे ।

उहाँले भन्नुभयो,“ संविधान कार्यान्वयनको विषय प्रतिपक्ष र सत्तापक्ष भन्दा पनि संसद्को विषयमा हो, सबैको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।” संविधानको कार्यान्वनका लागि गरिने सबै निर्वाचनलाई सरकारले विशेष प्राथमिकतामा रोखेको पनि मन्त्री महतले स्पष्ट पार्नुभयो ।