१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली दिल्ली प्रस्थान, यस्तो छ– कार्यक्रम

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७४, शुक्रबार ०४:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा प्रस्थान गर्नुभयो । प्रधानमन्त्री ओली बिहान ९ बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।

नेपाल वायु सेवा निगमको नियमित उडानबाट आज भारत प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत हुनुहुन्छ ।

भ्रमण दलमा संघीय संसद्का सदस्यहरु शरत्सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव सहभागी हुनुहुन्छ ।
प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आप्ूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाहलगायत हुनुहुन्छ ।

यस्तो छ भ्रमण कार्यक्रम
परराष्ट्र सचिव शंकरदास बैरागीका अनुसार भारत सरकारले विशिष्ट पाहुनाका रुपमा प्रधानमन्त्री ओलीलाई त्यहाँको राष्ट्रपति भवनमा विशेष आतिथ्यता प्रदान गर्नेछ ।
राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीसहित १६ जनालाई विशेष आथित्यताको प्रबन्ध मिलाइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ता भएपछि भोलिनै पत्रकार सम्मेलनमार्फत दुई प्रधानमन्त्रीबीचका सहमति सार्वजनिक हुनेछ ।
यस्तै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकैया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, वित्तमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय काँग्रेस आईका नेतासँग पनि भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री ओलीले भारतको उत्तराखण्डको गोविन्ददेव पन्त कृषि तथा पाविधि विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै आउनुभएको छ । नयाँ सहमति र सम्झौता गर्नेभन्दा पनि विगतमा भएका द्विपक्षीय सहमतिलाई नै कार्यान्वयन गर्न पहल गर्ने उहाँको तयारी छ ।

अरुण तेस्रो प्राथमिकतामा
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने सम्भावना छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको अरुण तेस्रोको हैदरावाद हाउसबाट शिलान्यास गर्ने सम्भावना छ । ९ सय मेगावाट क्षमताको यो आयोजनाको निर्माण शुरु भइसकेको छ ।