१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्याग्दी भ्रमण वर्षको तयारी

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७४, शुक्रबार १४:५४

बेनी । नयाँ वर्ष २०७५ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रुपमा मनाउन जिल्ला उद्योग वाणिज्य संघले तयारी गरेको छ । पर्यटकीय सम्भावना भएको जिल्लामा पर्यटकीयस्थलको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ को आयोजना गर्न लागिएको हो ।

आयोजनाका लागि संघको संयोजकत्वमा बेनी नगरपालिका लगायत पाँचवटै गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड र म्याग्दी विकास मञ्चलाई समेटेर म्याग्दी भ्रमण वर्ष २०७५ मूल समारोह समिति गठन गरिएको छ । भ्रमण वर्ष मनाउन करिब रु ४० लाख लाग्ने अनुमान छ ।

त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यको संयोजकत्वमा सूचना केन्द्र स्थापना तथा व्यवस्थापन उपसमिति, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, बेलवहादुर कटुवालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, अमित बानियाँको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र लिलानाथ गौतमको संयोजकत्वमा प्रकाशन उपसमिति गठन गरिएको छ ।

म्याग्दीमा धौलागिरि हिमाल संसारकै गहिरो गल्छी, आकर्षक रुप्से झरना, घोडेपानी, गुरिल्ला पदमार्ग, धौलागिरि राउन्ड पदमार्ग, गुर्जा पदमार्ग, धौलागिरि सेन्चुरी पदमार्ग, खयरबराह जस्ता पर्यटकका लागि आकर्षक पदमार्ग र नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनलगायत सम्पदा छन् ।