१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्पेनका राजाद्वारा पुनःनिमार्ण तथा राजनीतिक स्थायित्वका बारेमा चासो

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७४, शुक्रबार २०:२८

काठमाडौँ । लामो विवादपछि स्पेनस्थित नेपाली दूतावासले आफ्नो काम थालेको छ। वर्ष दिन अगाडि नै नेपाल सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको थियो।

परराष्ट्र मन्त्रालयसँगको सहकार्यविना नै दूतावास खोल्ने निर्णय भएको भन्दै यो विषय विवादमा परेको थियो। लामो प्रयासपछि नेपालका लागि स्पेनका राजदूत भरतबहादुर रायमाझीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

राजदूत रायमाझीले बिहीवार स्पेनको मड्रिडस्थित राजदरबार पुगेर त्यहाँका राजा फेलिप छैटौँलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको मड्रिडस्थित नेपाली दूतावासले जनाएको छ।

ओहोदाको प्रमाणपत्र बुझाएसँगै त्यहाँका राजासँग राजदूत रायमाझीले आधा घण्टा शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश समेत सुनाए।

दुई देशबीच सन् १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीचको सम्बन्धको चर्चा गर्दै राजदूत रायमाझीले दुई द्वीपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने विषयमा कुरा राखेका थिए। दुई देशबीच आर्थिक तथा व्यापार साझेदारीका लागि संयन्त्रको स्थापना गर्ने विषयमा छलफल भएको दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।

त्यस्तै राजदूत रायमाझीले संविधान जारी भएसँगै नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्व कायम भएको बताए। उनले नेपाल आर्थिक समृद्धि र विकासका दिशामा अगाडि बढेको भन्दै स्पेनसँग साझेदारी गरेर अगाडि बढ्न चाहेको बताएका थिए।

भेटमा स्पेनका राजाले स्पेनमा नेपालको दूतावास खोल्नु खुशीको कुरा भन्दै नेपालको आर्थिक विकास, भूकम्पपछिको पुनःनिमार्ण तथा राजनीतिक स्थायित्वका बारेमा चासो व्यक्त गरेका थिए।