१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओली र मोदीबीचको एक्लाएक्लै भेटमा के भयो ?

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार ०८:३६

नयाँ दिल्ली । तीनदिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख विपक्षी नेताहरूसँग महत्त्वपूर्ण भेटवार्ताहरू गरेका छन् । त्यसबाहेक नेपाली प्रधानमन्त्रीले भारतको व्यापारिक समुदाय र त्यहाँ रहेका नेपालीहरूसँग अन्तर्क्रिया गरेका छन् । त्यसपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरियो । एउटा भेटमा ओलीले नेपालले भारत र चीन दुवैसँग राम्रो सम्बन्ध राख्न चाहेको बताएको एकजना मन्त्रीले जानकारी दिएका छन् ।

नेपालमा संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा देखिएका तिक्ततामाझ दुई वर्षअघि पहिलो पटक प्रधानमन्त्रीको रूपमा दिल्ली जाँदा भारतीय विदेशमन्त्रीबाट स्वागत पाएका प्रधानमन्त्री ओलीलाई यसपटक विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिहंले स्वागत गरे । दुई देशबीच शङ्कारहित र भरपर्दो मित्रता कायम गर्ने उद्देश्य आफ्नो भ्रमणले राखेको हालै संसद्‌मा बताएका ओली पहिलो दिन नै उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहे। उनले शुक्रवार साँझ भारतीय प्रधानमन्त्री मोदीसँग एक्लाएक्लै भेटवार्ता गरेको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

उक्त वार्ताका विस्तृत विवरण बाहिर नआएपनि ओलीसँग भेट्न पाउँदा आफू प्रसन्न भएको भारतीय प्रधानमन्त्री मोदीले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।अपराह्ण ओलीलाई भारतको विपक्षी दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी र सोही दलका नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रपति भवन भेटेका थिए।

भारतीय विपक्षी नेताहरूले नेपालको अवस्था र नेपाल-भारत सम्बन्धबारे चासो राखेको भ्रमण दलमा रहेका भौतिक निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए । उनले भने, “हाम्रो प्रधानमन्त्रीले देशको समृद्धिको लागि हामीलाई सबैको सहयोग चाहिएको छ, भारतको पनि सहयोग चाहिएको छ भनेर भन्नुभयो। हामी पञ्चशीलको सिद्धान्तका आधारमा चीन र भारतसँग समान मित्रता गर्न चाहन्छौँ भनेर भन्नुभयो।”

शुक्रवार नै भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित दोभल र नेता शरद यादवले पनि ओलीसँग भेटेका थिए। प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीहरूसँग एउटा होटलमा र नेपाली समुदायसँग राजदूतावासमा अन्तर्क्रिया गरेका थिए।

भारतीय व्यवसायीहरूसँगको अन्तर्क्रियाबारे जानकारी दिँदै भ्रमण दलका अर्का सदस्य उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादव भन्छन्, “प्रधानमन्त्रीज्यूले लगानी गर्न आउनोस् नेपाल सबैभन्दा राम्रो थलो हो, यहाँ सबै किसिमको सहुलियत छ भनेर आग्रह गर्नुभयो।” आफ्नो अघिल्लो कार्यकालमा ओलीले चीनसँग पारवहन र इन्धन आपूर्तिसहितका विषयमा सम्झौता गरेका थिए। संसदीय चुनावमा सबैभन्दा ठूलो दलका नेताका रूपमा निर्वाचित भएपछि भारत सरकार र ओली स्वयम्‌ले आपसी सम्बन्ध सुधारका लागि पहल गरेका बताइन्छ।

ओलीले भारत सरकारसँग काम गर्न आफू तत्पर रहेको भन्दै भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेका विवरण आएका थिए। त्यसपछि भारतीय प्रधानमन्त्रीले चाहिँ आफ्नी विदेशमन्त्रीलाई विशेष दूत बनाएर काठमाण्डाैं पठाएका थिए । यस भ्रमणको सन्दर्भ पारेर चर्चित भारतीय अखबारहरूले प्रमुखताका साथ ओलीको अन्तर्वार्ता छापेका छन् । तिनमा उनले नेपाल-भारत सम्बन्धका कमजोरीहरूलाई समाधान गरेर अघि बढ्नुपर्ने र भारत-चीनबीचको प्रतिस्पर्धाबाट नेपाललाई कुनै किसिमको समस्या पर्न नहुनेमा जोड दिएका छन्।