८ बैशाख २०८१, शनिबार
Follow Us

एकताका अधिकांश विषय मिलिसक्यो : नेता पौडेल

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार १०:३५

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताउनुभएको छ । उहाँले दुई पार्टीबीचको एकताका अधिकांश विषय मिलिसकेको र केही झीनामसिना कुराले एकतामा बाधा नपुग्ने बताउनुभयो । लाखौँ जनताको उपस्थितिमा एमाले र माओवादीको पार्टी एकता वैशाख ९ गते घोषणा हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विगतको इतिहास, योगदान र योग्यताका आधारमा नेता र कार्यकर्तालाई जिम्मेवारी दिइने भएकाले प्रतिशतमा भागबण्डा नहुने बताउनुभयो ।

माओवादी नेताहरुले ५०–५० प्रतिशतको आधारमा मात्र एकता गर्नुपर्ने तर्क अगाडि सारिरहेको प्रसंगमा एमाले उपमहासचिव पौडेलले भने समानताका आधारमा एकता हुने बताउनुभयो र योगदान, क्षमता र सक्रियतालाई आधार बनाउँदा माओवादीको ६० र एमालेको ४० प्रतिशत पनि पर्न सक्ने स्पष्ट पार्नुभयो ।
दुई पार्टी एकताका लागि शुरुदेखि पहल गर्दै आउनुभएका उपमहासचिव पौडेलले जनयुद्ध शब्दावली र निर्वाचन चिह्नको विषय पनि सहज ढंगले टुंगोमा पुगिने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण लगायतका निकाय आफू मातहत राखेर अधिनायकवाद लाद्न खोजेको आरोप नेपाली काँग्रेसका नेताहरुले लगाइरहेका छन् नि भन्ने जिज्ञासामा उहाँले अधिनायकवादको विरोधमा सधैँ लड्दै आएको पार्टी र त्यसका नेताले त्यस्तो कहिल्यै नगर्ने बताउनुभयो ।

नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको निधो भई नसकेको पनि बताउनुभयो ।