८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौं–रक्सोल जोड्न भारत सहमत, सर्भे एक वर्षभित्र पूरा हुने

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७४, शनिबार १४:५१

नयाँदिल्ली । राजधानी काठमाण्डौंलाई भारतीय सीमावर्ती क्षेत्रसँग रेलमार्गले जोड्ने योजनामा नेपाल र भारतले सहमति जनाएका छन् । दुई देशबीच भएको सहमति अनुसार एक वर्षभित्र उक्त रेलमार्गको प्रारम्भिक सर्वेक्षण पुरा हुनेछ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा शनिवार औपचारिक भेटवार्ता भएपछि जारी संयुक्त वक्तव्यमा रेलमार्ग निर्माणको विषयलाई उल्लेख गरिएको छ । विज्ञप्तिमा भारतको सहयोगमा रक्सौल– काठमाडौं जोड्ने विद्युतीय रेल वे लाइन निर्माण गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

सो रेल वे लाइनको सर्भे एक वर्षभित्र पूरा गरिसक्ने जनाइएको छ । भारतीय पक्षको आर्थिक सहयोगमा निर्माण हुने भनिएको रेलमार्गको कार्यान्वयन तथा लगानीको प्रारुपबारे चाहिँ विस्तृत परियोजना प्रतिवेदनमा आधारित रहेर पछि गरिने विज्ञप्तीमा उल्लेख छ । रेलमार्गको निर्माणलाई कहिलेसम्म पूरा गर्ने भन्ने विषय विज्ञप्तीमा उल्लेख छैन ।

त्यसैगरी नेपाल भारत रेल वे लिंक प्रोजेक्टको पहिलो चरण कार्यान्वयन भएकोमा दुवै प्रधानमन्त्रीले खुशी व्यक्त गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले विभिन्न पाँचवटा स्थानमा सीमावर्ती क्षेत्रलाई रेलबाट जोड्ने योजनालाई पनि तीव्रता दिने सहमति गरेका छन् ।

जयनगर–जनकपुर र जोगवनी–विराटनगर भन्सार रेल वे लाइन दुई हजार १८ सम्ममा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसका साथै जनकपुर–जयनगर रेलवेलाई बर्दिबाससम्म र जोगवनी विराटनगर रेलवे लाइन विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी दोस्रो चरणमा काँकडभिट्टा–न्यू जलपायुगुडी, भैरहवा–नौतनुवा, नेपालगन्ज–नेपालगन्ज रोड रेल वे लाइन निर्माण गर्ने कुरामा दुवै प्रधानमन्त्रीले जोड दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक वार्तापछि संयुक्त प्रेस वक्तव्य जारी गरिएको हो ।

बाह्र बुँदे प्रेस वक्तव्यमा समानता, आपसी विश्वास, सम्मान र हितका आधारमा दुई पक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरिएको छ । वक्तव्यमा नेपालको आर्थिक विकास, समृद्धिका लागि भारत भागिदार बन्न तयार रहेको उल्लेख गरिएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसैगरी दुई प्रधानमन्त्रीबीच भएको छलफलपछि जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा सहकार्य गर्नेबारे पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरिएको छ ।