६ चैत्र २०८०, मंगलवार
Follow Us

समृद्धिको अभियानमा काँग्रेसको समर्थनः नेता सिंह

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७४, आईतवार १३:३९

बुटवल । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको काँग्रेसको रचनात्मक साथ र समर्थन रहने बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले काँग्रेसले राम्रा निर्णय र कामको समर्थन गर्ने तर लोकतन्त्रका मूल्य मान्यताको तलमाथि गरे चुप लागेर नबस्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने उल्लेख गर्दै नेता सिंहले प्रधानमन्त्रीले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने मात्र भ्रमण सफल भएको मान्न सकिने बताउनुभयो ।

देश संघीय संरचनामा गएपनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको दुई महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभाग गठन हुन नसक्नु निर्वाचनमा हारको कारण रहेको उहाँको भनाइ थियो । नेता सिंहले काँग्रेसलाई प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन, सांगठनिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको बताउनुभयो ।