६ चैत्र २०८०, मंगलवार
Follow Us

राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ अब युकेमा उपलब्ध

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७४, आईतवार १४:४५

अधिवक्ता गोविन्द बेलवासेद्वारा लिखित राष्ट्रवाद ‘भ्रम कि यथार्थ पुस्तक अब युकेमै उपलब्ध भएको छ। गैरआवासीय नेपाली नागरिकहरुको प्रमुख चासोको विषय तथा एनआरएनएको प्रमुख मागको रुपमा रहेको नागरिकता निरन्तरताको विषय पुस्तकमा समेटिएको छ। हाल बेलायतमा बसोबास गरिरहेका अधिवक्ता बेलवासे र अधिवक्ता सुरेन्द्र श्रेष्ठले एकपटक नेपालको नागरिकता प्राप्त व्यक्तिले विदेशको नागरिकता लिएपनि उनको नागरिकता रद्द नगरियोस् भनी नेपालमा दायर गरेको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ र छिट्टै त्यसबारे फैसला हुने अपेक्षा गरिएको छ।

बेलवासेद्वारा लिखित पुस्तकमा नेपाली नागरिकले जान्नै पर्ने नागरिकता संबन्धी कानुनी ब्यवस्था, राष्ट्रवाद र नागरिकता सम्बन्धी विवेचनाका साथै विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरी त्यहाँको नागरिकता प्राप्त गरेका नेपालीहरुले स्वेच्छाले परित्याग नगरेसम्म तिनीहरुको नेपाली नागरिकता कायम रहने संवैधानिक एवं कानूनी ब्यवस्था गरिनुपर्छ भन्ने कुरालाई केन्द्रीय विषयवस्तु बनाइएको छ।

पुस्तक किन्न http://pustak.org.uk/writer.aspx?id=190 मा गएर अनलाईन अर्डर गर्न सकिन्छ। पुस्तकको मूल्य ५ पौण्ड राखिएको छ।

पुस्तकमा अधिवक्ता बेलवासेले अमेरिकी सर्वोच्च अदालतद्वारा Afroyim V. Rusk को मुद्दामा प्रतिपादित सिद्धान्तलाई आफ्नो तर्कको आधार बनाएका छन् । सो मुद्दामा अमेरिकी अदालतले ब्यक्तिले स्वेच्छाले परित्याग गरे बाहेक राज्यले कसैको पनि नागरिकता खारेज गरिदिनु हुंदैन भन्दै लेखकले विश्वमा दोहोरो नागरिकता सम्बन्धी ब्यवस्था अंगिकार गर्ने मुलुकहरुको दृष्टान्त समेत प्रस्तुत गरेका छन् । यत्तिमात्र नभएर लेखकले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को ब्यवस्था नेपालको संविधान(२०७२) को प्रस्तावना, धारा १०, ४५ र संविधानको भाग ३ का धाराहरुसंग बाझिएकाले उक्त ब्यवस्थालाई बदर गरिपाऊं भनी नेपालको सर्वोच्च अदालतमा रिट निवेदन समेत प्रस्तुत गरेका छन् । लेखकले उक्त मुद्दासंग सम्बन्धित विषयलाई पनि पुस्तकको विषयवस्तु बनाएका छन् ।

नेपालमा नागरिकता एकदमै पेचिलो विषयको रुपमा रहेको छ । पुस्तक भित्रका पात्र भोजवा जस्ता अनेकौं गरीब तर वास्तविक नागरिकहरुले सहजै नागरिकता प्राप्त गर्न सकिरहेका छैनन् । उनीहरु जिल्ला प्रशासन कार्यालयका भ्रष्ट कर्मचारीहरुलाई घुस खुवाउने सामर्थ्य राख्दैनन् । तर अर्कातिर नेता एवं प्रशासकहरुले नागरिकता वितरणलाई राजनीतिक स्वार्थपूर्ति एवं आर्थिक उपार्जनको दह्रो माध्यम बनाएका छन् । गोविन्दको पुस्तक यही जटील राष्ट्रिय परिवेश बीच प्रकाशित भएको छ । पुस्तकमा लेखकको प्रमुख जोड वैश्वीकरणको वर्तमान परिवेशमा नेपालले दोहोरो नागरिकताको ब्यवस्थालाई अंगिकार गर्नु उपयुक्त हुनेछ भन्ने कुरामा रहेको छ ।

पुस्तकमा दुईवटा धारणाहरु देखिन्छन् । पहिलो हो, पुस्तकले एउटा नयाँ बहसको प्रारम्भ गरेको छ । त्यो हो, नागरिकता सम्बन्धमा कुनै ठोश नीति नअंगाली केही भ्रष्ट एवं अदूरदर्शी ब्यक्तिहरुको सनकका आधारमा नागरिकता सम्बन्धी संवैधानिक र कानूनी ब्यवस्था अंगाल्ने गरेको नेपालले अब यसबारे स्पष्ट नीति निर्धारण गर्नुपर्ने बेला आएको छ । त्यसोगर्दा गैर आवासीय नेपालीहरुले उठाउने गरेका सवालहरुमा समेत गम्भिरतापूर्वक छलफल र मनन हुनु जरुरी छ । यस सन्दर्भमा एक किसिमको निकास सर्वोच्चमा विचाराधिन मुद्दाको फैसला पश्चात निस्कन सक्दछ । दोश्रो कुरा, अवसर, वाध्यता, आकर्षण जुनसुकै कारणले गर्दा नेपाल छाडी विदेशमा बसोवास गर्न पुगेका भए तापनि गैर आवासीय नेपालीहरुको मनमा आफ्नो मातृभूमि प्रति औधि माया छ । उनीहरुको मातृभूमि प्रतिको यस किसिमको भावनालाई नेपालको विकास अभियानलाई संभव तुल्याउन सक्दो सदुपयोग गर्न सक्नुपर्दछ भन्ने मनसाय पनि लेखकको रहेको छ।