६ चैत्र २०८०, मंगलवार
Follow Us

यसै साता नयाँ प्रहरी प्रमुख आउँदै, कसको सम्भावना ?

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७४, आईतवार १५:०७

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालको पदावधि अब तीन दिनमात्र बाँकी छ । यद्यपि, नयाँ महानिरीक्षकको अझै टुंगो लाग्न सकिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै नयाँ प्रहरी प्रमुखको नियुक्ति हुने बताइएको छ ।

देशको शान्ति–सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीको बागडोर सम्हालिरहेका प्रहरी महानिरीक्षक प्रकाश अर्यालको पदावधि यही चैत २८ गते सकिँदैछ । नियमित प्रक्रियाअनुसार उनले अवकाश पाउन लागेसँगै नयाँ प्रहरी प्रमुखमा को आउने भन्ने अनुमान र चर्चाले बजार निकै गर्माएको छ ।

नेपाल प्रहरीको प्रमुखमा रोलक्रमअनुसार डीआइजी सर्वेन्द्र खनाल एक नम्बरमा छन् भने एउटै ब्याजीका डीआइजी रमेश खरेल र पुष्कर कार्की त्यसपछिको क्रममा । उनीहरु तीनैजना प्रहरीमा राम्रो छवि र कुशल नेतृत्व गर्दै आएका काविल प्रहरी अधिकृत मानिन्छन् । प्रहरी ऐनअनुसार सरकारले उनीहरुमध्ये जोसुकैलाई प्रमुखको जिम्मेवारी दिनसक्छ ।

तर, विगतदेखि पटक–पटक प्रहरी प्रमुखको छनोटमा राजनीतिकरण र अन्य पक्ष हावी हुँदै आएकाले यसपटक पनि त्यसको पुनरावृत्ति हुन्छ या हुँदैन भन्ने चासो धेरैमा छ । पूर्वप्रहरी प्रमुख ध्रुवबहादुर प्रधान यसपटक प्रहरी प्रमुख छनोट गर्दा सरकार त्यसबाट बच्नुपर्ने सुझाव दिन्छन् ।

अहिलेका प्रहरी प्रमुख अर्यालको छनोटताकाको विवादको असर सर्वोच्च अदालत हुँदै संसदसम्म पुगेको थियो । त्यसबेला सरकारले डीआइजी जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गर्‍यो । तर, अदालतले कार्यसम्पादन मूल्यांकनमा नवराज सिलवाल अगाडि रहेको भन्दै त्यसलाई उल्टाइदियो ।

सरकारले त्यसपछि सिलवाललाई पन्छाएर अर्याललाई नियुक्त गर्‍यो । सिलवाल त्यही चोटमा राजीनामा गरेर चुनावबाट सांसद भइसकेका छन् । चन्दसहितका १५ जना एआइजीले आइजी अर्यालसँगै अवकाश पाउने भएकाले डीआइजीबाट सीधै आइजी बनाउनुपर्ने बाध्यात्मक अवस्था छ ।