१२ बैशाख २०८१, बुधबार
Follow Us

चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना सकियो

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७४, सोमबार ०५:१४

लन्डन । इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सीले वेस्टह्याम युनाइटेडसँग एक–एक गोलको बराबरी खेलेको छ । यो बराबरीसँगै यो सिजन शीर्ष चारमा पर्ने चेल्सीको सम्भावना सकिएको छ । गएराति भएको खेलमा बराबरीमा रोकिएसँगै ३२ खेल सकिँदा चेल्सी चौथो स्थानको टोटनह्याम युनाइटेडभन्दा १० अंकले पछि छ ।

तर, खेलमा शुरुआती अग्रता लिएपछि त्यसलाई बचाउन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य भयो । खेलको ३६ औं मिनेटमा चेल्सीले अग्रता लिएको भए पनि ७३ औं मिनेटमा वेस्टह्यामले बराबरीको अवस्थामा ल्याएको हो । यसैगरी गएराति नै भएको अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ ।

स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियाल मड्रिडले एक–एक गोलको बराबरी खेलेका छन् । गएराति भएको मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियालले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टोनियो ग्रिजम्यानले बराबरी गोल फर्काउनु भयो ।

दोश्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १–० ले हराएपछि रियाल अंकतालिकाको चौथो स्थानमा झरेको छ । त्यस्तै, स्पानियोल तेश्रो स्थानमा पुगेको छ । समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियालको ६४ अंक छ ।