१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारलाई घुँडा टेकाउन यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७४, मंगलवार ०५:३५

काठमाडौं । सिन्डिकेट तोड्न सरकारले रुट अनुमति खुला गरेपछि असन्तुष्ट भएका यातायात व्यवसायीहरुले भेला गरेर आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबी गरेका छन् ।

यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ ।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनु भएको छ । सिटौलाका अनुसार यो पटकको आन्दोलन नेपाल बन्द गर्नेसम्मको हुनेछ ।

परिषद बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको छ । महासचिव सिटौलाले यातायात हड्तालदेखि नेपाल बन्दसम्म गर्न सक्ने बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने सिन्डकेटका सामू विगतका सरकारले झै घुँडा नटेक्ने बताउँदै आउनु भएको छ । प्रधानमन्त्रीको अडानकै आधारमा यातायात व्यवस्था विभागले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेको छ ।