७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनद्वारा दुईवटा संस्थासँग सम्झौता

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७४, मंगलवार ०६:५०

काठमाडौं । गैरआवासीय नेपाली संघ र सुशील कोईराला मेमोरियल फाउण्डेसनबीच सामाजिक एवं आर्थिक कार्यमा सहयोग र सहकार्य गर्ने सहमति भएको छ । हिजो सोमबार गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्ट र सुशील कोईराला मेमोरियल फाउण्डेसनको तर्फबाट सदस्य सचिव अतुल कोइरालाले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यसैबीच सोही दिन गैरआवासीय नेपाली संघ र शेषकान्त फाउण्डेसनबीच पनि व्यवसायिक शिक्षामा सहयोग तथा सहकार्य गर्ने सहमति भएको छ । सो सहमती पत्रमा गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्ट र शेषाकान्त फाउण्डेसनको तर्फबाट अध्यक्ष विशेश्वरप्रसाद ढकालले हस्ताक्षर गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष भवन भट्टले दुवै संस्थाहरुसँग सामाजिक कार्यमा सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । नेपालको सामाजिक आर्थिक विकास संघले सरोकारवाला संघ संस्थासँग सहकार्य गर्ने बताउनुभयो । अध्यक्ष भट्टले व्यवसायिक तालिमबाट युवाहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो । संघका महासचिव डा. बद्री केसीले दुवै संस्था र संघको उद्देश्य समान भएकोले सोही अनुरुप सहमती पत्रमा हस्ताक्षर गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा सुशील कोइरला फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले आफ्नो फाउण्डेसनका गतिविधिहरुबारे जानकारी गराउँदै गैरआवासीय नेपाली संघसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै शेषकान्त फाउण्डेसनका अध्यक्ष विशेश्वर प्रसाद ढकालले आफ्नो फाउण्डेसनका गतिविधिहरुबारे जानकारी गराउँदै गैरआवासीय नेपाली संघसँग सहकार्यलाई एक महत्वपूर्ण कोसेढुङ्गाको संज्ञा दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष कुमार पन्त, सचिव डि.बि क्षेत्री युकेका पूर्व आइसीसी सदस्य सुवास अधिकारी लगायतको उपस्थिति रहेको थियो ।