१५ बैशाख २०८१, शनिबार
Follow Us

नयाँ आईजीपी नियुक्तिको प्रस्ताव गृहमन्त्रीले मन्त्रिपरिषदमा लगेनन

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७४, मंगलवार १०:३४

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको टुंगो लगाउन ढिलाइ भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बुधबारबाट रिक्त हुन लागेको दुवै प्रहरी संगठनको महानिरीक्षकको टुंगो लगाउने भने पनि कुनै निर्णय हुन सकेन । बैठकमा गृहमन्त्री रामबहादुर थापाले आइजीपी नियुक्तिको प्रस्ताव नै पेस गरेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कसलाई आइजीपी बनाउने भन्ने विषयमा सहमति नबनेकाले मन्त्रिपरिषदले निर्णय गर्न नसकेको बताइएको छ । आइजीपी नियुक्तिका लागि मंगलबारै दोस्रोपटक मन्त्रिपरिषद बैठक बस्नसक्ने मन्त्रीहरुले बताएका छन् । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबारबाट अवकाश पाउँदैछन् ।

मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराज घिमिरेलाई बढुवा गरी प्रधानमन्त्री कार्यालयको सचिव बनाएको छ । त्यसैगरी, बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सन्चार तथा सूचना प्रविधि राजमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । बैठकले विद्यार्थी भर्ना अभियान सशक्तरुपमा सन्चालन गर्ने निर्णय पनि गरेको छ ।

शिक्षा लिनबाट बन्चित दलित, सीमान्तकृत र गरिब परिवारमा विद्यार्थीहरु विद्यालय लैजानका लागि एक विद्यार्थी भर्ना गर्न राज्यका सबै तहका व्यक्ति, मन्त्री, जनप्रतिनिधिहरु र नागरिक समाजलाईसमेत आह्वान गर्ने निर्णय गरेको छ । बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।