१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली कांग्रेस इतिहासमै कमजोर, दर्शन र विचारमा कांग्रेस सफल : प्रवक्ता शर्मा

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७४, मंगलवार १५:१७

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस स्थापनाको ६८ वर्ष पुगेको छ । आजकै दिन अर्थात् २००६ साल चैत २७ गते नेपाली कांग्रेसको स्थापना भएको थियो । ६८ वर्षको अवधिमा विभिन्न आरोह–अवरोह पार गर्दै आएको कांग्रेस यतिबेला इतिहासकै कमजोर अवस्थामा पुगेकोमात्र होइन, उसले औपचारिक कार्यक्रमसम्म पनि गरेन ।

स्थापनाको सात दशक हुँदै गर्दा नेपाली कांग्रेसको संगठन र नेतृत्व दुवै अहिलेकोजस्तो कमजोर र दिशाहीन कहिल्यै देखिएको थिएन । उसो त चैत २७ गते २००६ मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर बनेको नेपाली कांग्रेस, नेपाली राजनीतिक आन्दोलनको पर्याय नै हो । प्रजातन्त्र र नागरिक अधिकारका लागि भएका पटक–पटकको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको मूल आधार र सिद्धान्त भनेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो ।

तर, यही आदर्शमा जनताले बुझ्ने गरी खरो उत्रन नसक्दा अहिले उ जनमत र राज्यसत्ता दुवैबाट पछि परेको छ । नेपालीलाई रैतीबाट नागरिक बनाउने क्रान्तिको नायकत्व गर्दै वि.सं. २००७ सालमा राणा शासन पराजित गर्दा होस् वा २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह हुँदै २०४६ सालको प्रजातन्त्र पुनर्बहालीको आन्दोलन कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको इतिहास साक्षी छ । मुलुकलाई सशस्त्र द्वन्द्वबाट शान्तिको बाटोमा फर्काउन भएको वि.सं. २०६२/०६३ सालको आन्दोलनको नेतृत्व गर्ने र मुलुकलाई गणतन्त्रमा डोहोर्‍याउने भूमिका पनि समयले कांग्रेसकै काँधमा सुम्पियो ।

त्यतिमात्रै होइन, संविधानसभाबाट संविधान जारी गराउने सहजीकरणको भूमिकामा पनि कांग्रेस नेतृत्वकै सरकार खरो उत्रियो । त्यही संविधानप्रति विमति राख्दै आन्दोलनमा रहेका पक्षहरुलाई संविधानको सीमाभित्र छिराउँदै चुनाव प्रणालीमा ल्याउने र स्थानीय, प्रदेश हुँदै संघीय संसदको निर्वाचन गराउने सफलता पनि कांग्रेस नेतृत्वको सरकारले पायो । तर, यो सबै उपलब्धिको नेतृत्व गरेको कांग्रेस स्वयं भने अहिले ‘मणि हराएको नागझैं’ भएको छ ।

यद्यपि, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सत्ता राजनीतिका दृष्टिले पछिपरेको देखिए पनि राजनीतिक दर्शन र विचारमा कांग्रेस सफल रहेको दाबी गर्छन् । प्रवक्ता शर्माले जे तर्क गरे पनि यथार्थ वि.सं. २०७४ सालसम्म आइपुग्दा कांग्रेस संगठन र नेतृत्व इतिहासमै कमजोर र दिशाहीन देखिएको प्रस्ट छ । चुनाव परिणामले कांग्रेसलाई यस्तो देखाएको छ कि उसले केन्द्रदेखि कुनै पनि प्रदेशमा संसदीय प्रणालीअनुसार सरकारहरुविरुद्ध अविश्वासको प्रस्तावसम्म दर्ता गर्ने हैसियत राख्दैन ।

यस्तो हुँदा पनि पराजित हुनुको कारण पहिल्याइ भावी रणनीति बनाउनेभन्दा कांग्रेस आन्तरिक कलहको कुहिरोमै रुमल्लिएको छ । प्रवक्ता शर्मा भने सुदृढ र संगठित कांग्रेस हुने आशा व्यक्त गर्छन् ।

ललितपुर, सानेपाको बाग्मती किनारमा कांग्रेसको भीमकाय भवन उभिएको त छ तर संगठन त्यही घरजस्तो निर्जीवझैं देखिन्छ । केन्द्रदेखि भ्रातृ संगठनसम्म जीर्ण प्रतीत हुन्छन् । चलायमान हुनुपर्ने भ्रातृसंगठनहरु आफू–आफैमा विभाजित छन् । संगठनको धमनीमा गुटको प्रभाव छताछुल्ल भएको छ । महाधिवेशन सम्पन्न भएको दुई महिनामा गर्नुपर्ने सामान्य सांगठनिक काम पनि गरिएका छैनन् ।

प्रजातन्त्र, स्वतन्त्रता र नागरिक अधिकार स्थापनाको गौरवमय इतिहास बोकेको पार्टी नेतृत्वले आफूलाई समयानुकूल परिवर्तन नगर्ने हो भने पछिल्ला चुनौती चिर्न निकै कठीन हुने निश्चित छ ।