१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न अझै समय लाग्ने

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७४, बुधबार ०५:०१

काठमाडौं । जिल्लामा रहेका सरकारी कार्यालयहरू आजबाट खारेज हुने भनिए पनि स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्ने कतिपय काम पूरा भइनसकेकोले त्यसमा समय लाग्ने भएको छ । कतिपय कार्यालयहरूको म्याद थपिएको तथा कतिपय स्थानमा कर्मचारी खटाउने जस्ता मुख्य काम हुन नसक्दा ढिलो हुन गएको बताइएको छ। स्थानीय तहले स्वामित्व ग्रहण गर्न पनि समय लाग्ने सरकारी अधिकारीहरुको भनाई छ ।

स्थानीय तह सञ्चालन ऐन २०७४ लागू भएको ६ महिनाभित्र स्वास्थ्य, शिक्षा, कृषि विकास, पर्यटन जस्ता एक दर्जनभन्दा बढी जिल्लास्तरीय कार्यालयहरू बन्द गरी तिनीहरूको अधिकार संघीय स्वरूप अनुसार स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको थियो ।

आज यो अवधि सकिँदै छ । तर, कतिपय प्रक्रियाहरू पूरा हुन बाँकी नै रहेकोले हस्तान्तरणमा समय लाग्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले अधिकार हस्तान्तरण गर्ने र लिने दुवै पक्ष पूर्ण रूपमा तयार भइनसकेकाले कतिपय व्यस्थापनमा समय लाग्ने र आउँदो असार मसान्तसम्ममा धेरै कुरा मिलिसक्ने बताउनु भएको छ ।