१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेप्टेको लागि जग्गा बेचेँ -रोहित रुम्बा

sarusaru
२८ चैत्र २०७४, बुधबार ०५:२३

घरखेत नै बेचेर वा बैंकमा जग्गा बन्धकी राखेर फिल्म निर्माण गर्ने निर्माताको ताँती यहाँ लामै छ । कतिले फिल्म निर्माण गरेर मनग्य आम्दानी गरेका छन् त कतिले सर्वश्व गुमाउनु परेको छ । फिल्म भनेको विजनेश हो । यो विजनेशमा हात हालेपछि घाटा-नाफा दुबै सहन सक्ने तागत हुनुपर्छ ।

चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नेप्टे’ का निर्माता रोहित रुम्बाले डेढ रोपनी जग्गा बेचेर फिल्म निर्माण गरेको बताए । पत्रकारसँगको कुराकानीको क्रममा उनले यस फिल्मले राम्रो पैसा कमाउन नसके अबको ५ वर्ष फिल्मबाट टाढा रहने बताउँछन् ।

उनी भन्छन्, ‘भक्तपुरमा रहेको डेढ रोपनी जग्गा बेचिसकेको छु । अरु जग्गा भने बन्धकी राखेको छु । यदी ‘नेप्टे’ असफल नभए म ५ वर्ष फिल्मबाट हराउँछु । किनभने, मैले त्यो जग्गा बचाउनका लागि अरु काम गर्नुपर्छ ।’

रोहित भावुक मुद्रामा भन्छन्, ‘यदी फिल्म राम्रो चले नयाँ फिल्मको घोषणा गर्नेछु । नचले अब कहिल्यै फिल्म निर्माण गर्ने छैन । अभिनयलाई निरन्तरता दिनेछु ।’ उनी ‘नेप्टे’ राम्रो बनेको हुँदा दर्शकको साथ पाउनेमा ढुक्क देखिन्छन् ।

उनी थप्छन्, ‘नेप्टे’ मेरो ड्रिम प्रोजेक्ट हो । १८ वर्षदेखि यही फिल्म क्षेत्रमा संघर्ष गरिरहेको छु । मलाई पनि एउटा राम्रो फिल्म खेलुँ, राम्रो ब्यानरबाट आउँ, मलाई पनि दर्शकले चिन्नुहोस् भन्ने ठूलो इच्छा छ । यसैकारण मैले यो फिल्म बनाएँ । दाबी गर्छु यस फिल्मले दर्शकलाई कतै पनि बोर हुन दिँदैन ।’

‘नेप्टे’ का निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्मको कथा रोहित आफैंले लेखेका छन् । फिल्मलाई हरी घले लामाले खिचेका हुन् ।

तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, रोहित, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
-फिल्मी खबरबाट ।