१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र आईजीपी

sarusaru
२८ चैत्र २०७४, बुधबार ०५:५५

बागलुङ- सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनालाई बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चैत २९ गतदेखि लागू हुने गरी प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । प्रहरीको कार्यसम्पादन मूल्यांकनमा सर्वेन्द्र खनाल पहिलो नम्बरमा थिए।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाउँदैछन्। महानिरीक्षक अर्यालसँगै १५ जना एआईजीहरु मंगलबारबाट अवकास पाउँदैछन्। प्रहरी महानिरीक्षकको दौडमा खनालसँगै डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धी थिए।
२०४६ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेको सर्वेन्द्र खनालले आफ्नो करिअरमा कुख्यात भारतीय अपराधी बब्लु दुबेको पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायत अन्य थुप्रै अपराधको सफल अनुसन्धान गरेका थिए। नेपाली फुटबल इतिहासमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा नेपाली टिमका कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसी लगायतलाई कानूनी कठघरमा ल्याएका थिए।
अपराध महाशाखाको जिम्मेवारी सम्हालेको हप्तादिनमै उनले सञ्चार उद्यमी जमिम शाहका हत्यारालाई जगदीश चन्दलाई पक्राउ गरे। २०६० सालमा ललितपुरको एकै परिवारको ५ जनालाई हत्या गरेर फरार भएका चन्द्रबहादुर पहारीलाई उनले नियन्त्रणमा लिएका थिए। नाकाबन्दीका बेला इन्धन कालोबजारी गर्नेहरुलाई पक्राउ, गरे। यूनीटी लाइफ इन्टरनेशनलका सञ्चालकहरुलाई विष्णुबहादुर र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गर्न सफल भएका थिए।
नेपाल प्रहरीको प्रवक्ता हुँदै उनी महानगरीय ट्राफिक प्रहरी प्रमुखमा कार्यरत थिए। नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका शैलेन्द्र खनाल २०५७ सालमा गठन भएको सशस्त्र प्रहरीमा प्रवेश गरेर करिअर सुरु गरेका थिए।
-ढोरपाटन