१२ बैशाख २०८१, बुधबार
Follow Us

श्रीमान्ले गीत गाउनै दिएनन्

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७४, बुधबार ११:५७

रामदेवी गुरुङ, गायिका

स्कुल पढ्दादेखि नै रामदेवी गुरुङ गीत गुनगुनाउथिन् । नाच्ने गाउने उनको रहरमा पटक पटक अवरोध सिर्जना भयो । तर, उनले हिम्मत हारिनन् । स्कुल स्तरको पढाइ सकिएपछि जागिर सुरु भयो, त्यो जागिरले उनलाई रेडियो नेपालसँग जोड्यो । रेडियो नेपालमा रुम्जाटारकै पाण्डव सुनुवारसँग उनको भेट भयो । र, उनकै पे्ररणाले रेडियोमा स्वर परीक्षा दिएपछि रामदेवीको गायक बन्ने सपनाले बाटो समातेको हो । विवाह गरेपछि नेपाल नै छाडेर हिँड्नु परेपछि उनको गायन यात्रामा केही समयका लागि फुलस्टप लाग्यो । पुरानो रहर रामदेवीले अहिले पूरा गर्दैछिन् । यिनै विषयमा रामदेवीसँग गरिएको कुराकानी :

० तपाईलाई गायिका भनेर सम्बोधन गर्दा हुन्छ ?
– यो प्रश्न मलाईभन्दा पनि मेरा श्रोतालाई सोध्नुभयो भने राम्रो हुन्छ । यद्यपि म सौखले गायन क्षेत्रमा लागेकी हुँ । त्यसो त मेरा केही चर्चित गीत पनि छन् ।

० तपाईंलाई कुन गीतले श्रोताले सम्झन्छन् ?
– लैजाउ माया, फर्केर हेरेन, इन्द्रकमलझै लाग्छ रुम्जाटारलगायतका गीतहरू जनजिब्रोमा छन् । केही गीतको छायांकन हुँदैछ, छायांकन सकिएपछि म दर्शकसँग पनि जोडिन्छु ।

० काठमाडौं बसेर रुम्जाटार सम्झनुभयो ?
– जहाँ गए पनि जहाँ बसे पनि जन्मभूमिको माया औधि लाग्दो रहेछ । बाल्यकाल रुम्जाटारमा बित्यो, त्यसपछि अध्ययनका लागि काठमाडौं आइयो, काठमाडौंबाटै विवाह भएर विदेश पुगियो । जहाँ रहे पनि मेरो जन्मुभूमि रुम्जाटार इन्द्रकमलजस्तो मगमगाउँछ ।

० के छ रुम्जाटारमा ?
– मायापे्रम छ, इन्द्रकमल जस्तो बास्ना छ । पूर्वमा ठोट्ने र सिस्ने खोला छ, जसले प्यास मेट्छ । डाँडाकाँडाले ढाकेको मेरो रुम्जाटार स्वर्गको एउटा टुक्राजस्तो लाग्छ ।

० रुम्जाटारकी गुरुङनी भन्ने गीत चर्चित छ नि ?
– कुमार बस्नेतले गाएको काठमाडौंकी नेवारनी, रुम्जाटारकी गुरुङनी भन्ने गीत मैले पनि सुनेकी छु ।

० रेडियो नेपालमा कतिवटा गीत रेकर्डिङ भएका छन् ?
– ४०–५० वटा गीत रेकर्डिङ गराएको थिएँ, तर त्यसबेला आफूले रेकर्ड गराएको गीत दर्ता गराउनुपर्ने रहेछ । विदेश जानुपर्ने भएकाले दर्ता गराउन पाइएन । पञ्जिकृत भएको त्यस्तै सातवटा मात्र मेरा गीत भेटें ।

० गाउन कसले पे्ररित ग-यो ?
– स्कुल पढ्दादेखि नै नाचगानमा रुचि राख्थें । पढ्नभन्दा नाच्न गाउन अघि सर्थें । गीत गाउन खुबै रहर लाग्थ्यो । आमाले पनि तेरो स्वर मीठो छ भन्नुहुन्थ्यो । बर्खे भाकामा रोपाइँको गीत गाउँदा गाउँदै गायक बन्न रहर चल्यो ।

० चर्चित त हुनुभएन नि ?
– चर्चित बन्न सकिएन, उमेरमा गाउने इच्छा थियो, तर श्रीमान्ले दिनुभएन । गीत गाउने रहर मेटिएको थिएन, त्यही रहर अहिले मेट्दैछु ।

० अहिले चाहिँ श्रीमान्ले दिनुहुन्छ ?
– दिए पनि नदिए पनि गाउँछु । अहिले श्रीमान्ले मरेर गए पनि सम्झनाले बास गर्छ भनेर तिमी गीत गाउ भन्नुहुन्छ ।

० त्यसबेला किन गाउन नदिनुभएको रहेछ ?
– गीत गाउने मान्छे जता पनि हिँड्छन् भन्ने मानसिकता थियो । यदि त्यसरी हिँड्ने नियत हो भने संगीतमा लागेका व्यक्ति मात्र होइन अरु पनि हिँड्छन् ।

० परिवारमा कस्तो वातावरण थियो ?
– मलाई गीत गाउन उकास्थे, बाजेसमेत नाच्न लगाउनु हुन्थ्यो । गायन क्षेत्रमा लाग्न आमाले धेरै पे्ररित गर्नुभयो । गीत गाउने बेलामा अहिले पनि म आमालाई सम्झन्छु ।

० पढाइलेखाइ ?
– सात कक्षासम्म रुम्जाटारमै पढेँ, त्यसपछि अध्ययन गर्न काठमाडौं आएँ । काठमाडौंबाटै एलएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा अध्ययन गर्न पद्मकन्यामा भर्ना भएँ । नेपाल परिवार नियोजनमा जागिर भेटें, त्यसपछि पढाइलाई अघि बढाउन सकिनँ ।

० किन नि ?
– नेपाल परिवार नियोजन मातृशिशुको कार्यक्रम बनाएर रेडियो नेपालमा पुग्थें । त्यहाँ पाण्डव सुनुवार दाइसँग भेट भयो । उहाँ पनि रुम्जाटारे, उहाँले स्वर परीक्षामा भाग लिन भन्नुभयो । त्यसबेला तीन–चार सय मानिस स्वर परीक्षामा सहभागी थिए । मेरो एक नम्बरमा नाम निस्केको थियो । उहाँले नै मेरो नाम रामदेवीबाट शर्मिला राखिदिनुभयो ।

० जागिर खाँदै पढ्न सम्भव भएन ?
– पढ्नकै लागि माइला बडाबाबुको घरमा बसेकी थिएँ । कलेजमा एक पेपर दिएँ, बिग्रियो, जागिरको सिलसिला पनि त्यति लामो टिकेन । बजुले विवाह गर्दिनुभयो ।

० घरमा पढ्ने वातावरण थिएन ?
– रुम्जाटारमा घर नजिकै स्कुल थियो, सात कक्षासम्म पढाइ हुन्थ्यो । दाइहरूलाई पढाउनुहुन्थ्यो, म चाहिँ आमाको साथी थिएँ । मलाई पनि कापीकिताव किनिदिनुभयो । सात कक्षासम्म मैले पनि त्यही पढें ।

० विवाह कसरी सम्भव भयो ?
– भेनासँगै छुट्टीमा आएको एकजना हङकङका लाहुरे थिए । भेनामार्फत घरमा कुरा आयो । त्यसबेला मेरो विवाह गर्ने इच्छा कत्ति पनि होइन । यद्यपि दबाबमा परेर विवाह भयो ।

० लाहुरे भेटेपछि विवाह गर्नुभयो ?
– बजुले मेरो विवाह गर्दिनु निर्णय सुनाएपछि म धेरै रोएकी थिएँ । मेरो विवाह गर्दिने हो भने म तिमीहरूको घरमै बस्दिँन भनेर हिँड्न लागेकी थिएँ । तर सबैले फकाए, राम्रो घरखान्दानको केटो आएको छ, छुटाउनु हुँदैन भनेपछि विवाह गर्न राजी भएँ ।

० विवाहपछि ?
– रुँदै घर गएँ, घर ताप्लेजुङ हो, श्रीमान्को बिदा सकिएपछि हामी हङकङ गयौं ।

० कति बस्नुभयो हङकङ ?
– २२–२३ वर्ष बसियो । दुई छोरा, दुई छोरी भए । दुई छोरी अहिले यूकेमा छन् । एउटा छोरा छ, एउटा कलेज पढ्दै गर्दा अपराधी समूहबाट हत्या भयो ।

० कुन अपराधी समूहले हत्या ?
– मेरो छोरा अनुशासित थियो, मादक पदार्थ केही खाँदैन थियो, साथीभाइको लहलहैमा लागेर डिस्कोमा पुगेछ । घर फर्किने बेलामा झगडा भएछ ।

० यतिबेला बसोबास कहाँ छ ?
– स्थायी घर काठमाडौं नै हो, हङकङ, यूके आउने जाने गर्छु । छोरा–छोरी, नातिनातिना त्यतै छन् । सबैतिर पुग्छु, माया लाग्छ ।

० कहाँ बस्न बढी मन पर्छ ?
– विदेशमा रत्तिभर बस्न मन पर्दैन, सबै काममा जान्छन्, खाने पिउनेको टुंगो हुँदैन । नेपालमा मित्रवत् व्यवहार, जन्मेको देश त्यसै पनि माया लागेर आउँछ ।