१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारत भ्रमण प्रभावकारी र फलदायी: एनआरएन अध्यक्ष, भवन भट्ट

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७४, बुधबार १८:४०

लन्डन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणका क्रममा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गर्दै भारत जानुभएका संघका अध्यक्ष भवन भट्टले भ्रमण छोटो, प्रभावकारी र फलदायी भएको बताउनुभयो ।

भारत भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम -Nepal-India Business Forum) को प्रतिनिधिमण्डलस्तरीय बैठकमा गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अध्यक्ष भट्ट सहभागी हुनुभयो ।

भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ -Federation of Indian Chambers of Commerce and Industry-FICCI), भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी भई अध्यक्ष भट्टले नेपालमा लगानी बढाउन र घोषित कार्यक्रमलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

मित्र राष्ट्र भारतको यो भ्रमण अत्यन्त उपयुक्त समयमा भएको चर्चा गर्नुहुँदै अध्यक्ष भट्टले मुलुकमा आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न सकारात्मक वातावरण बनिसकेको अवस्थामा भारतीय लगानीकर्ताहरु समेत नेपालमा लगानीका लागि इच्छुक रहेको पाइएको बताउनुभयो ।

अध्यक्ष भट्टले नेपाल भारतबीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउन भारत सकारात्मक देखिएको बताउनुहुँदै भ्रमण दुबै मुलुकको निजी क्षेत्र बीचको सम्बन्ध सुमधुर बनाउन र आपसी सहकार्यमा विश्वास दिलाउने हिसाबले फलदायी भएको बताउनुभयो ।

भ्रमणमा वर्तमान परिस्थितिमा क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा देखा परेका परिवर्तनहरूलाई आत्मसात गर्दै त्यसबाट लाभ उठाउन छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा स्थापित भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको र भारतले समेत नेपालमा राम्रो अवसर प्राप्त गर्ने विषयमा छलफल भएको अध्यक्ष भट्टले बताउनुभयो ।

भारतमा रहँदा अध्यक्ष भट्टले प्रधानमन्त्रीसँगको औपचारिक समारोहमा सहभागी हुनुको साथै नेपाल भारतबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भारतीय निजी क्षेत्रसँग भेटवार्ता गर्नुभयो । साथै विभिन्न राजदूतद्वारा आयोजित रात्रीभोजमा समेत सहभागी हुनुभयो ।

अध्यक्ष भट्टले भारत भ्रमणका क्रममा गैर आवसीय नेपालीहरुको प्रतिनिधित्व गराउनुभएकोमा सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओली एवं नेपाल सरकारप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।