१५ चैत्र २०८०, बिहीबार
Follow Us

गोर्खा सैनिक समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७३, आईतवार ०८:११

काठमाडौं । बेलायती सेनाका पूर्वगोर्खा सैनिकको टोलीले आफूहरूमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग वार्ता गरी समस्या समाधान गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शनिबार पूर्वगोर्खा सैनिकको टोलीले भेट गर्दै आफूहरूको जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको हो ।
प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएका गोर्खा सैनिकका अगुवा कृष्णबहादुर राईका अनुसार २५ वर्षदेखि आफूहरू बेलायत सरकारसँग वार्तामा बसेपनि समस्या समाधान नभएकाले सरकारी तहबाटै वार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरिएको हो । पूर्वबेलायती सैनिकको एकैस्तरको पदमा बसेर काम गर्दा पनि नेपालीलाई तलब कम दिइने, कैयौँ विभेद र असमानता रहेको, नेपालसमेत रहेको त्रिपक्षीय सन्धिअनुसार भर्ती गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको राईले जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले गोर्खा सैनिकका मागका सम्बन्धमा पटक–पटक कुरा उठाइसकेको बताउँदै जायज माग सम्बोधन गर्न कूटनीतिक पहल गरिने बताउनुभयो । प्रधानमन्त्रीले जायज माग सम्बोधन गर्न आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले बताउनुभयो ।