११ बैशाख २०८१, मंगलवार
Follow Us

मृगौला पीडित माननीय शान्ति अधिकारीलाई वेलायतबाट आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७४, बुधबार २२:३५

लण्डन । मृगौलाले काम नगर्ने अबस्थामा पुगेकी बाग्लुंग निवासी राष्ट्रिय सभा सदस्य शान्ति कुमारी जिसी अधिकारीको मृगौला प्रत्यारोपणको लागि बेलायतमा वस्ने महिलाहरुको बिशेष पहलमा करीब दुइ हप्ताको अबधीमा संकलित रकम १४ लाख ७७ हजार गत ७ मार्चका दिन एक कार्यक्रम गरी नेपालमा हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग रकम कार्यक्रममा सहयोग दाताको तर्फवाट नेपालमा रहनु भएका क्षेत्री समाज वेलायतका आजीवन सदस्य धन वहादुर क्षेत्री, बागलुङे समाज वेलायतका नरसिंह छन्त्याल तथा प्रेम कुमारी छन्त्यालले बागबजार स्थित होटल हार्दिकमा एक समारोहका बीच पीडित शान्ती अधिकारी तथा उनको श्रीमान गोबिन्द अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्वहरु धन बहादुर बिस्ट, लिला बहादुर कुँवर, राधिका कुवँर दुलाल तथा दिल बहादुर जिसी लगायतका महानुभाबहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन लिला बहादुर कुँवरले गर्नुभएको थियो ।

बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर निवासी शान्ति जिसी अधिकारी बिगत २ वर्ष देखि दुवै मृगौलाले काम नगर्ने रोगवाट पीडित थिइन । राजनीति तथा सामाजिक कार्यहरुमा सक्रिय अधिकारीको आर्थिक अबस्था निकै कमजोर भएको तर उपचारको लागी करीब २० लाख लाग्ने भएपछि उनले देश बिदेशका आफ्ना सबै आफन्तहरुसंग सहयोगको लागी याचना गरिन ।

उनको अनुरोधमा बेलायतमा रहेका अधिकारीका स्कुले जीवनका साथी तथा आफन्तहरु प्रतिमा केसी, शारदा कुँवर र लक्ष्मी बस्नेतको बिशेष पहलमा क्षेत्री समाज बेलायत, बाग्लुंगे समाज बेलायत तथा बिभिन्न सहयोगी महानुभाबहरुबाट सो रकम संकलन गर्न सफल भएका हुन ।

यस आर्थिक सहयोग संकलन कार्यक्रमको संयोजन क्षेत्री समाज बेलायतकी उपाध्यक्ष तथा तात्कालिन आपतकालीन राहतकोष संयोजक प्रतिमा केसीले गरेकी थिइन् । उपाध्यक्ष केसीले शारदा कुँवर, लक्ष्मी बस्नेत रहेको तीन सदस्यीय सहयोग समिति बनाइन । त्यो समितिमा रहेकी शारदा कुँवरले बाग्लुंगे समाजसंग सहयोगको लागी अपिल गरिन भने क्षेत्री समाज युकेको आपतकालीन राहत कोष संयोजक समेत रहेकी प्रतिमा केसीले क्षेत्री समाजमा यसलाई संयोजन गरिन । त्यसै गरी सामाजिक रुपमा सक्रिय लक्ष्मी बस्नेतले बिभिन्न महानुभाबहरुसंग ब्यतिगत रुपमा पहल गरिन ।

यस अभियानमा प्रतिमा केसीको व्यक्तिगत पहलमा रु २,११,९७४, क्षेत्री समाजका सदस्यहरु मार्फत रु ३,९८,०७६, बाग्लुंगे समाजबाट रु २,५९,०१४, शारदा कुँवरको व्यक्तिगत पहलमा रु ३,२६,१९३ र लक्ष्मी बस्नेतको व्यक्तिगत पहलमा रु २,८१,६५२ गरी जम्मा १४ लाख ७७ हजार रकम संकलन भएको थियो । स्मरणीय कुरा के छ भने यस अभियानलाइ महिलाहरुले मात्र संयोजन र नेतृत्व गरेर यति ठुलो रकम जम्मा गरेका हुन ।

यसै बीच सो अभियानको संयोजनको गरिरहेकी प्रतिमा केसीले महिला दिदीबहिनीको मात्र संयोजनमा यति ठुलो रकम संकलन गर्न सफल भएकोमा आफुहरु निकै खुसी र उत्साहित रहेको कुरा आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेकी छन । फेसबुक मार्फत उदार मनले यस मानवीय कार्यमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद समेत दिएकी छन ।