१४ बैशाख २०८१, शुक्रबार
Follow Us

किताब छपाई अझै सकिएन

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७४, बिहीबार ०७:१८

काठमाडौं । अंग्रेजी र नेपाली जस्ता विषयका पुस्तकहरू छाप्ने काम अझै नसकिएकाले नयाँ शैक्षिक सत्रमा देशभरका विद्यालयहरूमा पाठ्यपुस्तक पु-याउने सरकारी लक्ष्य पूरा नहुने देखिएको छ । किताब छपाइ तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले विगतमा भन्दा यो पल्ट जिल्लामा बढी किताब पु-याइसकेको दाबी गरेको छ।
सामुदायिक विद्यालयको पुस्तक छपाइ, वितरण र ढुवानीको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रबाट अझै अनिवार्य नेपाली, अंग्रेजी र ऐच्छिक विषयका किताबहरू प्राप्त हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
पुस्तक बिक्री वितरण गर्ने क्षेत्रीय डिपोहरूमा अहिले पनि वितरकहरू पुस्तकको पर्खाइमा बसिरहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष प्रभात सुबेदीले बताउनु भएको छ ।
उहाँले, “यति खेरसम्म पनि ८ र १० कक्षाको अंग्रेजीको किताब काठमाण्डूमा नै पाइएको छैन। दूरदराजमा ती पुस्तक पुग्न कति समय लाग्ने होला’ भन्नु भएको छ । देशभर १५ हजार पुस्तक वितरक छन्।
उनीहरूका अनुसार जनक शिक्षाले एकमुष्ट किताब दिएको छैन । थोरै थोरै पुस्तक दिँदा विकट जिल्लाहरूमा पटक–पटक ढुवानी गर्न नसकिएको हो।
यसबाहेक अहिले कतिपय सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पढाइ सुरु गरिसकेको भए पनि त्यस्ता पुस्तकहरूको छपाइ अझै हुन नसकेको भन्दै वरिष्ठ उपाध्यक्ष सुवेदीले चिन्ता जनाउनु भएको छ ।
उहाँले “धेरै सामुदायिक विद्यालयहरूले अहिले अङ्ग्रेजी माध्यमबाट पढाउन थालेको र त्यहाँ पुस्तक नपुग्दा समस्या थपिएको बताउनु भयो ।